चितवन १० वैशाख । चितवनको निर्वाचन क्षेत्र नं. २ को नयाँ किरण माध्यमिक विद्यालयको मतदान स्थलमा रोकिएको मतदान कार्य सञ्चालन गर्ने तयारी भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. ११ को नयाँकिरण माध्यमिक विद्यालय स्थलमा रास्वपाका सभापति रवि लामिछानेसहितको टोली जाने क्रममा निर्वाचन चिन्ह बजाएको भन्दै विरोध गरेपछि मतदान कार्य स्थगित भएको थियो । मध्यन्ह १२ बजेबाट स्थगित भएको मतदान कार्य सञ्चालनको लागि प्रयास भइराखेको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी इश्वर आचार्यले जानकारी दिनुभयो ।
राजनीतिक दलका प्रतिनिधिहरु संग छलफल गरी सञ्चालन गर्ने प्रयास भइराखेको उहाले जानकारी दिनुभयो । ७ वटा मतदान केन्द्र रहेको नयाँकिरण मावि स्थलमा ५० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो । यस केन्द्रमा छ हजार आठसय मतदाता रहेका छन् ।
यस क्षेत्रमा लोकतान्त्रिक–बाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले) बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले सांसद पदच्युत गरेपछि उपनिर्वाचन हुन लागेको हो ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ । यहाँ एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रो लिङ्गी रहेका छन् ।