चितवन । गत मंगलबार राति चञ्चलकली नामको उक्त हात्तीको सुँड काटिएको थियो । सौराहाका दिपेन्द्र खतिवडाले पालेको यो हात्ती पर्यटकलाई जंगल डुलाउन सफारीमा प्रयोग हुन्छ ।
आइतबार हात्तीले सुँडमा भरेर ३२ पटक पानी खाएको उपचारमा संलग्न पशु स्वास्थ्य प्राविधिक किरण रिजालले जानकारी दिए । माहुतेले मोटर चलाएर सुँडमा पाइपबाट राखेको पानी हात्तीले पिएको हो ।
ुयो राम्रो संकेत हो । अब यसले पानी आफैं पिउन र विस्तारै खाने कुरा टिपेर खानसक्ने सम्भावना देखियो,ु रिजालले भने । सुँड हात्तीको खानपानका लागि उपयोगी हुने महत्त्वपूर्ण अंग हो । सुँडको तल्लो भाग काटेको हुनाले उसलाई खानपिउन गाह्रो परेको थियो । हात्तीको सुँड काट्नेहरूका बारेमा अनुसन्धान जारी भए पनि हालसम्म कोही पक्राउ नपरेको चितवन राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।
मुख्य अंग सुँड नै काटिएपछि घाइते भएको चन्चलकलीलाई उखु, घाँस हातैले दिइएको थियो । माहुतेले नै हात्तीको मुखसम्म खानेकुरा लगेर खुवाइदिएका थिए । सुँडबाट पानी पनि लिन सकेको थिएन । विज्ञहरूका अनुसार हात्तीका लागि सुँड मानिसका लागि हात जस्तै महत्त्वपूर्ण अंग मानिन्छ ।
चञ्चलकलीको सुँड काटिएको घटनाबारे कान्तिपुरमा समाचार प्रकाशित भएपछि यो विषयलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसद्मा समेत उठाएका थिए । सांसद श्रेष्ठले यस घटनामा संलग्नलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । यो घटना मानवताविरुद्धको अपराध भएको सांसद श्रेष्ठको भनाइ थियो ।
कान्तिपुर दैनिकबाट