ढाकाको अडियोबारे रविले भने, ‘कारवाही गर्न नसके मलाई गढीमाइमा बलि दिनू’

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरेर ७२ घण्टाभित्र कारबाही गरिसक्ने बताएका छन् । आज (आइतबार) बाराको चुनावी सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले भनेका छन् ‘आज आफ्नो सांसदको एक अडियो सार्वजनिक भएको सूचना सामाजिक सञ्जालबाट जानकारी प्राप्त गरेको छु । तपाईलाई म स्पष्ट पर्न चाहन्छु भ्रष्टाचारको विषयमा हाम्रो भनाइ, हाम्रो गराई, हाम्रो कुरा सधैँ एउटै हुन्छ । जसले जे गरोस् हाम्रो सरोकारको विषय हुँदैन । त्यो अडियो सार्वजनिक हुने बित्तिकै मैले पार्टीपंत्तिलाई निर्देशन दिएको छु की ७२ घण्टाभित्र छानबिन गरेर कारबाहीको अगाडि बढाउनु भनेर ७२ घण्टाको अल्टिमेटम दिएको छु ।’

उनले भने, ‘देशका भ्रष्टाचारका काण्डहरू ७२ वर्षदेखि अल्झिएका होलान् मलाई मतलब छैन तर हाम्रो पार्टीभित्र प्रश्न उठेपछि त्यो प्रश्नको निराकरण हुन्छ । ७२ घण्टाभित्र छानबिन नहुञ्जेल संसद्का रूपमा वा साधारण सदस्य समेत कहीँ पनि पठाउने छैनौं । मैले अल्टिमेटम दिएको ७२ घण्टामा दुई घण्टा भइसक्यो अब ७० घण्टा बाँकी छ । ७० घण्टा भित्र तथ्य पत्ता लगाएर कारबाही गर्न सकिन भने मलाई यही गढीमाईमा बलि दिनु होला ।’

आफूले तोकेको समयमा कारबाही गर्न नसके आफूलाई गढीमाईमा बलि दिए हुने उनको भनाइ छ । उनले आफ्ना संसद्ले घुस मागेको पत्ता लागे आफै अक्तियारमा जाने बताएका छन् । आइतबार सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड मागेको अडियो सार्वजनिक भएको थियो । रास्वपाले उनलाई निलम्बन गरेर छानबिन प्रक्रिया अगाडि बढाएको छ ।

शेयर गरौ

ताजा अपडेट