चितवन १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरेका छन् । आज (बिहीवार) एक कार्यक्रमका बीच प्रचण्डले एक अर्ब ९२ करोड रुपैयाँ लागतमा बन्न लागेको अत्यधुनिक टर्मिनल भवनको शिलान्यास गरेका हुन् ।
शिलान्यास समारोहमा बोल्दै प्रचण्डले निर्माण भएको ६२ वर्षपछि चौविसै घण्टा सञ्चालन हुने गरी विमानस्थल विस्तार गर्न लागिएको बताए । ‘विमानस्थल विस्तारका लागि गएको छ वर्षमा सिंहदरबारमा धेरै बैठक बसेका छन् । सम्बन्धित मन्त्रालय, नेपाली सेना र प्रधानमन्त्री कार्यालयसँग धेरै छलफल भए । अन्तत यो चितवनबासीको लागि मात्रै नभएर बागमतीकै गौरवको आयोजनाका रुपमा अघि बढेको छ’, उनले भने ।
पिक आवरका बेला एक घण्टामा एक हजार यात्रुले टर्मिनल भवनको उपयोग गर्न सक्ने खालको नयाँ टर्मिनल भवन बनाउन लागिएको हो । करिब १४ कठ्ठा जमिनमा निर्माण हुने भवन दुई तलेको हुने छ भने आठ तले कन्ट्रोल टावर पनि रहनेछ ।
यो विमानस्थलमा ७२ देखि ८० सिटे जहाज अवतरण गर्न सकिने गरी विमानस्थलको विस्तार गर्ने तयारी छ । हाल १२ सय मिटर रहेको धावन मार्गलाई १५ सय मिटर पुर्याउने सरकारको योजना छ।
त्यसका लागि नेपाली सेनाको कालिबहादुर गण र घोडा प्रजनन् केन्द्र स्थानान्तरण गर्नुपर्ने छ । सेनाको गणलाई दियालो बंगला र घोडा प्रजनन् केन्द्रलाई गणेशस्थान मन्दिरमा स्थानान्तरण गर्ने मन्त्रीपरिषद्को निर्णय भइसकेको उनले बताए । स्थानान्तरण लगत्तै विमानस्थल विस्तारको काम सुरु हुने छ ।
भरतपुर विमानस्थलमा करिब ६२ वर्ष अगाडि पहिलो उडान भएको थियो । भरतपुर विमानस्लथबाटअहिले प्रादेशिक विमानस्थलमा उडान हुँदै आएको छ ।