जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादव नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदको समर्थन र प्रस्तावमा उम्मेदवार हुनुभएको हो ।
जनमत पार्टीका झालाई भने लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदले समर्थन गरेको हो। जसपाकै अर्का उम्मेदवार प्रमिलाकुमारी उम्मेदवार नरहेको उक्त दलले जनाए पनि निर्वाचन अधिकृतको कार्यालयको समयसीमाभित्र उम्मेदवारी फिर्ता नलिएकोले मतपत्रमा उहाँको नामसमेत राखिएको छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उपराष्ट्रपतिको निर्वाचनका लागि ९८० थान मतपत्र छापिएको जानकारी दिनुभयो। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद्का दुवै सदनका सदस्य र प्रदेश सभाका सदस्य रहने निर्वाचक मण्डलले मतदान गर्ने कानुनी व्यवस्था छ। सो व्यवस्थाबमोजिम ८८२ सदस्य मतदान गर्न योग्य छन्।
सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले सङ्घीय संसद्का सदस्यले मतदान गर्ने केन्द्रका लागि कृष्णशरण लामिछाने र प्रदेश सभा सदस्यले मतदान गर्ने केन्द्रका लागि मन्दिरा शाहीलाई मतदान अधिकृत नियुक्त गरिएको जानकारी दिनुभयो।
आयोगले सार्वजनिक गरेको नमुना मतपत्रबमोजिम सङ्घीय संसद्का सदस्यका लागि सेतो पृष्ठभूमिमा रातो अक्षरले लेखिएको मतपत्र छापिएका छन्। प्रदेश सभा सदस्यका लागि सेतो पृष्ठभूमिमा हरियो अक्षरले लेखिएको मतपत्र छापिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो।
मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले)बाट उम्मेदवारी दिनुभएका शाक्य, दोस्रो क्रममा जसपाबाट उम्मेदवारी दर्ता गराउनुभएकी प्रमिलाकुमारी, तेस्रोमा जनमत पार्टीका ममता झा र चौथोमा जसपाकै रामसहायप्रसाद यादवको नाम उल्लेख छ।
मतपरिणाम आजै
निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार नै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको जनाएको छ। सहायक निर्वाचन अधिकृत शर्माले भन्नुभयो, “मतदान सम्पन्न भएलगत्तै निर्वाचन प्रतिनिधिको सहमतिमा मतगणना सुरु हुनेछ। साँझ ६ बजेभित्र मतपरिणाम आउने अपेक्षा गरेका छौँ।”
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ बमोजिम कुनै उम्मेदवारले प्राप्त गरेको कुल मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत भएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवार निर्वाचित भएको घोषणा गर्नुपर्नेछ। उक्त व्यवस्थाअनुसार निर्वाचक मण्डलको कुल मतभार ५२ हजार ६२८ रहेकोमा निर्वाचित हुन २६ हजार ३१४ मत आवश्यक पर्नेछ।
तर चार जना उम्मेदवार रहेकोले पहिलो चरणमा बहुमत प्राप्त हुन नसके पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच मतदान हुने गरी मतदानको मिति तोकिनेछ। गोरखापत्र दैनिकबाट