चितवन, २८ फागुन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को जापान सरकारलाई निम्तो दिनुभएको छ ।
भरतपुर महानगरपालिका र जापानको योकोसुका सहर बीच भगिनी सम्बन्ध स्थापना कार्यक्रमसहित सप्ताहव्यापी जापान भ्रमणमा रहनु भएका प्रमुख दाहालले यो अभियानमा सहभागी हुन गैरआवासीय नेपाली संघ (एनआरएनए), जापान मार्फत जापान सरकारलाई निम्तो दिनु भएको छ ।
जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहनु भएको कार्यक्रममा भरतपुर भ्रमण वर्षबारे प्रमुख दाहालले प्रकाश पार्नु भएको थियो । भरतपुर महानगरपालिकाले “भरतपुर भ्रमण वर्ष २०२४” अभियान घोषणा गरेको छ । “संरक्षणको लागि पर्यटन, पर्यटनको लागि भरतपुर” भन्ने नाराका साथ आयोजना गरिने कार्यक्रममा यस गैरआवासीय नेपाली संघ एनआरएनए) जापान र अन्य राष्ट्रमा रहेका नेपाली र गैर नेपालीलाई सहभागीता तथा पर्यटकहरुलाई भ्रमण वर्षको प्रर्वद्धन गर्न मेयर दाहालले आह्वान गर्नुभयो ।
भरतपुर महानगरपालिका अनुपम प्राकृतिक सौन्दर्यले सम्पन्न, ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण मध्य नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको बताउदै प्रमुख दाहालले अभियानलाई सफल बनाउन आवश्यक प्रचार प्रसार, समन्वय र सहकार्य अपिल समेत गर्नुभयो ।
भरतपुर महानगरपालिकामा विमानस्थल, रिङ्गरोड, लिङ्करोड, हुलाकीमार्ग, पूर्वपश्चिम राजमार्ग, सिटीहल, होटल, तथा रिसोर्टहरु स्तरोन्ती भईरहेको छ । महानगरपालिमा भित्र निकुञ्ज, सामुदायिक वन, ताल, नदी, सूर्योदय, सूर्यास्त, पहाड, हिमश्रृंखलाको दृश्यावलोकन जस्ता प्राकृतिक आकर्षण तथा संग्रहालय, पार्क, धार्मिकस्थल छन् । महानगरमा पर्यापर्यटन, वन्यजन्तु पर्यटन, खेल पर्यटन, स्वास्थ्य पर्यटन, कृषि पर्यटन, सभा–सम्मेलनपर्यटन आदिको विकास भइरहेको छ । पर्यटनमा महानगरपालिकालाई प्रमुख ७ गन्तव्य (सेभेन प्वाईन्ट) सहित ३० वटा पर्यटकीय गन्तव्यहरु छनोट गरिएको छ ।
भरतपुर भ्रमण वर्ष २०२४ मा दुई लाख जना बाह्य पर्यटक भित्रयाउने लक्ष्य लिएको छ । कार्यक्रममा नेपाल सरकारका ५ वटा मन्त्रालयका कर्मचारी र नेपालका अन्य स्थानीय तहका प्रमुख तथा राजनैतिक प्रतिनिधिसँग भ्रमण वर्षलाई सफल बनाउनेबारे छलफल गरिएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, सुर्य विनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, चन्द्रगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीलगायतको उपस्थिति रहेको थियो ।
