चितवन १७ फागुन ।
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरिरलाई काठमाडौंको टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको छ ।
श्रद्धाञ्जली दिन भीभीआईपी, भीआईपी, आफन्त र सर्वसाधारणसमेत टुँडिखेलमा पुगेका छन् । अन्तिम श्रद्धाञ्जली दिनको लागि हजारौको भीड लागेको छ ।
टुँडिखेलमा पुगेका सबै शोकमा त थिए नै आफन्तजनको रोदनले वातावरण थप भावुक बनेको छ । आफैं भावविह्वल बनेकाहरुले शोकाकुल परिवारका सदस्यलाई सम्हाल्न समस्या परेको छ । बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा उदयीमान नेता अधिकारी, पर्यटन क्षेत्रका अगुवा आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका निर्देशक ध्रुव भोछिभया, प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरेको निधन भएको थियो ।
बिहीबार शवहरुको पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा गरिएको थियो । हिजै दिवंगतलाई अन्तिम श्रद्धाञ्जली दिने भनिए पनि पोस्टमार्टममा भएको ढिलाइले आज गरिएको हो ।
मन्त्री अधिकारीलगायत अन्य दिवंगतहरुलाई श्रद्धाञ्जली दिन बिहानैदेखि सर्वसाधारण टुँडिखेलमा भेला भएका छन् । श्रद्धाञ्जलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायत सर्वसाधारणहरु पनि उल्लेख्य उपस्थिति छ ।