चितवन, ७ फागुन । चितवन राष्ट्रिय निकुञ्जको भण्डारण कक्षमा राखिएको अखेटोपहार (संरक्षित जनावरको हाड,छाला,खुर)नष्ट गर्ने समय भइसक्दा पनि राष्ट्रिय निकुञ्ज विभागले यस तर्फ ध्यान दिन सकेको छैन ।
संरक्षित जनावरको छाला, हड्डी, खुर, गैंडाको खाग, हात्तीको दाँतलगायत अखेटोपहार विभिन्न समयमा नियन्त्रण गरेर ल्याएपछि चितवन निकुञ्जको कसरामा राख्ने गरिएको छ । यसरी राखिएको अखेटोपहार हरेक पाँच वर्षमा नष्ट गर्ने प्रावधान रहेको छ । भण्डारण गरेर राखिएको स्थानमा त्यस्ता सामग्रीले भरिन थालेको चितवन राष्ट्रिय निकुञ्जका प्रमु्ख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो ।
प्राकृतिक रुपमा मरेका जनावरका महत्वपूर्ण अंङग, चोरी शिकारीले मारेर छाडेका जनावरका अङग, चोरीशिकार गरी वा अन्य तरिकाले ओसार पसारका क्रममा नियन्त्रणमा लिएका त्यस्ता सामग्री, अन्यत्र स्थानबाट भण्डारण गर्न पठाइएका सामग्री चितवन निकुञ्जको कसरामा राखिदै आएको छ । चोरी शिकारीको लागि महत्वपूर्ण मानिएका जनावरका अंङगहरु भण्डारण गरेर राख्न चुनौती हुने प्रमुख संरक्षण अधिकृत आचार्यले बताउनुभयो । लामोसमयसम्म राख्दा राखेको स्थानमा सडेर जाने, ती सामग्रीलाई कडा सुरक्षा दिएर राख्नु पर्ने, स्थानको अभाव लगायतको चुनौती हुने उहाले बताउनुभयो ।
यसरी जम्मा भएका अखेटोपहार हरेक पाँच वर्षमा नष्ट गर्ने प्रावधान रहेको छ । यो नष्ट गर्नको लागि निकुञ्ज विभागले नै प्रकृया अगाडि वढाएर स्वीकृती दिनु पर्ने प्रमुख संरक्षण अधिकृत आचार्यले जानकारी दिनुभयो । यसरी भण्डारण गरेर राखेको अखेटोपहार ठुलो मात्रामा वि.सं. २०७४ सालमा नष्ट गरिएको थियो । जनावरका अङग वहुमुल्यमा बिक्री वितरण हुने भन्दै चोरी शिकारीले मारेर त्यस्ता अङग लैजाने गर्दछन् । जनावरका अङग मध्य सबैभन्दा धेरै एकसिंगे गैँडाको खागलाई शिकारीले आफ्नो निशाना बनाएका हुन्छन् ।
प्राकृतिक कारणले मरेका गैँडा र चोरीशिकारीको क्रममा नियन्त्रणमा लिएका, ओसारपसारका क्रममा नियन्त्रणमा लिएका गरी निकुञ्जको कसरामा १९९ वटा खाग रहेको छ । गैँडाको खाग जस्तै सामग्री नक्कली खाग ५ वटा र गैंडाको खुर एकहजार आठ सय ६८ वटा रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
त्यस्तै गरी बाघको छाला २० वटा, चितुवाको छाला ११५ वटा, रेडपाण्डाको छाला ६४ वटा, गोहीको छाला ३ वटा, हात्तीको दाह ४५७ वटा, ध्वासे चितुवाको छाला ७ वटा, कस्तुरीको विना १२ वटा, कछुवाको खपडा १५ वटा, सालकको खपटासहितको छाला ७ वटा, भालुको छाला ३ वटा बाघको हड्डी १२० किलो, चरीबाघको छाला ५ वटा, भालुको पित्त २३ वटा, निगाले बाघको छाला, अजिंगरको छाला, चितुवाको हड्डी, हिउ चितवुको छाला, कस्तुरीको खुट्टा, हिउचितुवाको पञ्जा, पुच्छर, जुंगालगायत संरक्षित जनावरको छाला, हड्डी, वहुमुल्य अखेटोपहार रहेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
संरक्षित जनावरको यस्ता अखेटोपहार भारतमा भण्डार गरेर राख्ने चलन नभएको निकुञ्ज कार्यालयले जनाएको छ । शिकारीले मारेको भेटिएमा वा प्रकृतिक रुपले मरेको पाइएमा तत्काल गाड्ने र जलाउने चलन रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले जानकारी दिनुभयो । नेपालमा भने देशका विभिन्न स्थानमा फेला परेका यस्ता सामग्री चितवन निकुञ्जमा ल्याएर भण्डारण गर्ने नियम रहेको छ । यसरी भण्डारण गरेका अखेटोपहारलाई पाँचपाँच वर्षमा जलाउने गर्दै आएको छ ।