नारायणी नदी किनारमा आकर्षक पार्कसहितको तटवन्धन कार्य सुरु

 

चितवन, ७ फागुन । नारायणगढको नारायणी नदी किनारमा पार्कसहितको आकर्षक तटवन्धन कार्य सुरु भएको छ ।
भरतपुर महानगरपालिकाले सि बीचको अवधारणा अनुसार विकास गर्नको लागि योजना बनाएको स्थानमा पहिलो चरणमा आकर्षक तटवन्धन निर्माण कार्य सुरु भएको हो । नारायणी नदीको पुलबाट उत्तर तर्फको स्थानमा तटवन्धनको कार्य सुरु भएको नारायणी नदी व्यवस्थापन आयोजना कार्यलयका सूचना अधिकारी इन्जिनियर शंकर बुढाथोकीले जानकारी दिनुभयो ।
पहिलो चरणमा निर्माण हुने यस तटवन्धनमा ६४० मिटर लम्वाइको काम हुनेछ । यहाँ सिढी र चौतारासहितको संरचना निर्माण हुनेछ । त्यसको लागि आठ मिटरको ‘पाइल’ गाड्ने काम भइरहेको छ । बाढीले माटो खोतल्न नसकोस् भनेर नदीमा बगिरहेको पानीको नजिकै ‘पाइल’ गाडिएको सूचना अधिकारी इन्जिनियर बुढाथोकीले बताउनुभयो । पानीको नजिकै भन्दा केही परबाट हामीले संरचना निर्माण गर्नेछौ उहाले भन्नुभयो वर्षातमा पनि वाढी र कटानले असर नगर्नेगरी निर्माण कार्य भइराखेको छ ।
दुई मिटर अग्लो संरचनामा १० वटा सिढि रहने छ । नदी किनारको सौन्दर्यकरणको लागि सिढि निर्माण गर्न लागिएको हो । यसले नदी नियन्त्रणको लागि काम गर्नेछ । सिढिमा बसेर पर्यटकहरु रमाउन सक्नेछन् । सिढि लस्करै रुखसहितको चौतारी निर्माण गरिनेछ । ठूलो बाढी आएका बेला भने पानी सिढि कटेर आवास क्षेत्रसम्मै पुग्न सक्दछ तर संरचना भत्काउन सक्दैन उहाले भन्नुभयो ‘बाढीले जमिन नखोतल्ने गरी सिढि बनाइने हो ।’
१५ करोड ९३ लाख रुपैयाँ लागतमा निर्माण हुने यो आयोजना १८ महिना भित्र सक्नुपर्ने लक्ष्य रहेको छ । निर्माणको जिम्म डाइनामिक कन्स्ट्रक्सन प्रालिले लिएको छ । यो सहित नारायणी नदी नियन्त्रणको लागि नारायणगढदेखि मेघौलीसम्मको विभिन्न स्थानमा तटवन्धनको काम भइराखेको सूचना अधिकारी इन्जिनियर वुढाथोकीले जानकारी दिनुभयो । पाँच वटा ठेक्काबाट काम भइराखेको तटवन्धनको कुल लागत दुइ अर्व १९ करोड रुपिँया रहेको नारायणी नदी व्यवस्थापन आयोजना कार्यलयले जानकारी दिएको छ ।
नारायणी नदीमा तटवन्धन सम्पन्न भएपछि यस क्षेत्र नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो । हामीले नारायणी नदीको सौन्दर्यतालाई अझ व्यवस्थित र आकर्षण बनाउने छौ उहाले भन्नुभयो ‘नदीबाट हुने कटान र डुवान रोकिएपछि यो वरदान सावित हुनेछ । ’होटल तथा पर्यटकीय पूर्वाधार निर्माणको काम निजी क्षेत्रले गर्नेछन् । यहाँ नयाँ गन्तव्यको विकास भएपछि स्वदेशी मात्र होइन विदेशी पर्यटक समेत हेर्न आउनेछन् उहाले भन्नुभयो ।

 

 

शेयर गरौ

ताजा अपडेट