काठमाडौं ५ फागुन्न। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैँ अग्रपंत्तिमा रहेको बताएका छन् ।
ज्ञापनपत्र बुझाउन आएका राष्ट्रिय जनमोर्चाका नेताहरुसित आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरी जनमोर्चाको ज्ञापनपत्र सम्बोधन हुने गरी शान्ति सुरक्षाको व्यवस्था गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा साझा व्यक्ति हुनुपर्ने अडानबाट पछि हट्न नसक्ने बताएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा प्रतिगमन सुरु भएको भन्दै त्यसलाई रोक्न गरेको आग्रहको जवाफ दिँदै प्रधानमन्त्रीले केही घटनाक्रमले सचेत गराएको बताए ।
जनमोर्चा अध्यक्ष केसी लगायतका टोली विभिन्न माग राखी शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेको थियो । ‘राष्ट्रपतिमा साझा व्यक्ति हुनुपर्ने अडानबाट पछि हट्ने अवस्था छैन,’ प्रचण्डको भनाई उधृत गर्दै एक सहभागीले भने, ‘केही घटनाक्रमले मलाई झस्काएको छ ।’
जनमोर्चाका नेताहरूसँगको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो राजनीतिक जीवन राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको स्मरण गराउँदै सङ्घीयताबाहेक अन्य सबै मुद्दामा आफू जनमोर्चासँगै रहेको बताए । सो अवसरमा जनमोर्चाका नेताहरूले राष्ट्रियताका पक्षमा प्रधानमन्त्री दाहालले खेलेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने उनको अडानले मुलुकमा राजनीतिक स्थिरता र संविधानको रक्षा हुने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।