चितवन, २७ माघ । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले वैज्ञानिक कृषि प्रणाली अबको आवश्यकता भएको बताउनु भएको छ ।
चितवनको भरतपुरमा शुक्रबारबाट सुरु भएको पाँँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीकोे उद्घाटन गर्दै उहाले नेपालको कृषि क्षेत्रमा वैज्ञानिक कृषि प्रणाली आवश्यक भएको बताउनुभयो । उहाले भन्नुभयो ‘परम्परागत कृषिबाट हामीले उत्पादन वृद्धि गर्न सक्दैनौ, त्यसैले आधुनिक प्रविधिको प्रयोग अहिलेको आवश्यकता हो ।’
सरकारले कृषि क्षेत्रको विकासका लागि प्रविधि भित्राएर उत्पादन वृद्धि गर्ने योजना ल्याउने तयारी गरेको जानकारी दिनुभयो । निर्वाहमूखी खेतीलाई विस्थापित गरेर प्रविधि र वैज्ञानिक कृषि प्रणाली उन्मुख सरकार रहेको बताउनुभयो । अहिले नै हामी सवै क्षेत्रमा प्रविधि लागु गर्न सक्दैनौ उहाले भन्नुभयो ‘अनुदानको रुपमा सहुलियतको रुपमा किसानलाई आधुनिक सामग्री खरिद गर्दै आएका छौ ।’ किसानलाई अनुदान दिएर, सहुलियतमा ऋण दिएर पनि प्रोत्साहन दिएको मन्त्री साहले भन्नुभयो ।
उहाले देशको समग्र अर्थतन्त्रको हिंसा ओगटेको कृषि प्रधान देशमा कृषिसँग सम्बन्धीत प्रदर्शनीले निकै ठूलो महत्व राख्ने बताउनुभयो । यस्ता प्रविधियुक्त प्रदर्शनीहरुले सामान्यदेखि ठूलो परिमाणमा व्यवसायिक कृषिसँग काम गर्दै आएका कृषकहरुलाई महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । प्रदर्शनीबाट एकैठाउँमा स–साना कृषकहरुका उत्पादनदेखि ठूला–ठूला प्रविधिहरु सहज रुपमा बुझ्न र उपयोग गर्न पाउने भएकोले कृषक र उत्पादकबीच सम्बन्ध स्थापित हुने बताउनुभयो ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लि.को संयुक्त आयोजनामा भएको कार्यक्रममा मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहा, कन्सुलर जनरल भारत वीरगञ्जका प्रमुख नितेश कुमारलगायतले प्रदर्शनीको बारेमा मन्तव्य राख्नु भएको थियो । प्रदर्शनीको उद्घाटनपछि आयोजित अलगै कार्यक्रममा मन्त्री साहले उद्योगीहरुको समस्याका बारेमा जानकारी लिनु भएको थियो । प्रदर्शनी माग २९ गतेसम्म सञ्चालन हुनेछ ।