चितवन, २५ माघ । चितवन राष्ट्रिय निकुञ्जको नवलपरासी क्षेत्रमा चोरी शिकारीले करेन्ट लगाएर गैँडा मारेपछि विभागले गठन गरेको छानविन समितिको टोलीले अध्ययन गरेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीको नेतृत्वमा गठन भएको टोलीले सोमबार र मंगलबार अध्ययन गरेको छ । ६ सदस्यीय टोलीले संरक्षणसंग सम्वन्धीत सरोकार राख्नेहरु, घटना स्थलका स्थानीय, मारिएको स्थानलगायतमा अध्ययन गरेको विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिनुभयो ।
गैँडा मारिएको स्थान निकुञ्जको सुरक्षा पोष्ट र स्थानीय वस्तीबाट नजिक भएको पाइयो उहाले भन्नुभयो ‘यदी सुरक्षाका विषयमा सम्वेदनशील भएर निगरानी राखेको खण्डमा मारिनेबाट बचाउन सकिने अवस्था घटना स्थलको प्रकृति हेर्दा देखिएको छ ।’ कार्कीले भन्नुभयो ‘सुरक्षाका विषयमा केही कमजोरी भएको स्थलगत अध्ययनपछि देखिएको छ, विस्तृत विवरण हामी अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्नेछौ, सुरक्षामा केही कमजोरी भएकै छ । ’
उहाले भन्नुभयो घटनाको विषयलाई लिएर सातवटा समुहगत छलफल गरेका छौ, मंगलबार हामीले घटना स्थलका स्थानीयसंग, त्यस क्षेत्रका नेपाल प्रहरी, सुरक्षार्थ सेना, सरोकार पक्ष, समुदायहरुसंग घटनाको विषयमा केन्द्रीत रहेर अध्ययन गरेका छौ । घटना स्थल हेर्दा गैंडा मारिएको स्थानबाट ३ किलोमिटर पर सेनाको भुताहा पोष्ट, चारसय मिटर पर मानववस्ती छ । अघिल्लो दिन सेनाले त्यही स्थानबाट गस्ती गरेको अध्ययनमा पाइयो । गैँडा मरेको स्थान सेनाले गस्ती गर्ने बाटो पर्ने रहेछ । वस्ती नजिकै रहेको मन्दिरबाट विजुलीको तार ल्याएर गैँडालाई करेन्ट लगाएर मारेको हुनसक्ने देखिएको छ कार्कीले भन्नुभयो । घटना स्थलबाट आवश्यक सामग्रीहरु सुरक्षाकर्मीले वरामद गरेर अनुसन्धान गरिराखेको छ । घटना स्थलको प्रकृति हेर्दा सुरक्षामा चासो देखाएको भए त्यो घटना हुन नसक्ने देखिएको छ उपमहानिर्देशक कार्कीले भन्नुभयो ।
टोलीले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख, निकुञ्ज सुरक्षार्थ नेपाली सेनाका प्रमुख संग अलगअलग र संयुक्त छलफल गरेको थियो । त्यसैगरी मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष, समुदाय, शिक्षालयसंग, हात्तीसारेहरुसंग, सेना प्रशासन, सामुदायिक वनका व्यक्तिसग स्थानीय व्यक्तिसंग छलफल गरिसकेको छ । छलफलका क्रममा घटना स्थलको वस्तीका स्थानीयसंग जानकारी लिन खोस्दा त्रसित भएको पाइएको उपमहानिर्देशक कार्कीले जानकारी दिनुभयो । उहाले भन्नुभयो ‘हामी केही कुरा वुझौ भनेर आएको भन्ने जानकारी पाएपछि ढोका थुनेर बसेका थिए । बाहिर आउन समेत नमानेको अवस्थाले स्थानीय गैँडा मारिएपछि त्रसित रहेको हामीले पाएका छौ ’ उहाले भन्नुभयो ।
निकुञ्जको पश्चिम क्षेत्र नवलपरासीको अमलटारी सेक्टर अन्तर्गत भुताहा पोस्टनजिक मध्यबिन्दु नगरपालिका–२ मा नारायणी नदीको उत्तरी किनारमा अन्दाजी १४ वर्षको पोथी गैंडा र अर्को अन्दाजी चार वर्षको भाले बच्चा गैंडा मृत भेटिएका थिए । माघ ६ गते दिउसो फेला परेको गैँडाको पोस्टमार्टम गर्दा करेन्ट लागेर मरेको पुष्टी भएको छ । दुइ मध्य माउ गैँडाको खाग काटेर लगेको थियो भने बच्चाको सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
चोरी शिकारीले करेन्ट लगाएर गैँडा मारेपछि घटनाको विषयमा सत्यतथ्य बाहिर ल्याएर सुरक्षाका रणनीति तयार पार्न माघ ११ गते उपमहानिर्देशक अजय कार्कीको नेतृत्वमा ६ सदस्यीय टोली गठन गरेको थियो । टोलीले वुधबार र विहीबार बाँकी रहेको विषयमा अध्ययन गर्नेछ । टोलीले तयार पारेको प्रतिवेदन फागुन १० गर्ते सार्वजनिक गर्ने तयारी रहेको उपमहानिर्देशक कार्कीले जानकारी दिनुभयो ।