चितवन, २० माघ । विश्व सिमसार दिवसको अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदीमा २० वटा घडियाल गोही छाडेको छ ।
निकुञ्जको कसरामा संरक्षण गरेर राखेको प्रजनन् केन्द्रका गोहीलाई प्रकृतिक वासस्थान राप्ती नदीमा छाडिएको निकुञ्जका सूचना अधिकारी गाणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । यो सहित चितवनको राप्ती, नारायणी नदी लगायत अन्य क्षेत्रमा अहिलेसम्म एकहजार छ सय ९० गोही छाडिएको निकुञ्जले जनाएको छ । निकुञ्ज विभागका महानिर्देशक महेश्वर ढकालले घडियाल गोही नदीमा छाड्नु भएको थियो ।
लोपउन्मुख अवस्थामा रहेको घडियाल गोहीलाई निकुञ्जले संरक्षण गरी प्रजनन् केन्द्र स्थापन गरेको छ । केन्द्रमा हुर्केका घडियाललाई हरेक वर्ष सिमसार दिवसको वसर पारेर प्राकृतिक वासस्थानमा छाड्ने गर्दछ । केन्द्रमा प्रजनन् क्षमता राम्रो भएको भाले गोहीको अभाव हुदा नयाँ बच्चा निकाल्न समस्या हुदै आएको छ । वृद्ध भाले गोहीको प्रजनन् क्षमता हस भएको र नदीबाट ल्याएको भाले गोही विरामी भएकाले उसबाट पनि उपयुक्त क्षमता नहुदा समस्या भएको निकुञ्जले जनाएको छ ।
प्रजनन् केन्द्रमा रहेको भालेमा उत्पादन क्षमता नभएपछि नारायणी र राप्ती नदीबाट अण्डा ल्याएर यहाँ कोरल्न दिने गरिएको छ । २०७८ मा गरेको गणनामा नारायणी नदीमा १०३ र राप्तीमा १२५ वटा घडियाल गोही रहेको छ । नदीमा छाडिएका गोही वगेर भारत तर्फ जाने, जालमा परेर मर्ने लगायतको कारणले छाडेको सवै नरहेको कार्यालयले जानकारी दिएको छ ।
निकुञ्ज विभागले सिमसार क्षेत्रको महत्व र संरक्षणको विषयमा कसरामा अन्तरक्रिया गरेको थियो ।