नेपाली साहित्य क्षेत्रमा चोभार ब्लुज निकथासंग्रहले दियो नयाँ स्वाद

 

चितवन, १८ माघ । बिक्रमभक्त जोशीद्वारा लिखित चोभार ब्लुज निकथासंग्रहले साहित्य क्षेत्रका लागि नयाँ स्वाद दिएको समालोचकको भनाइ छ ।
भरतपुरमा आयोजित साहित्य कृति चोभार ब्लुजका विषयमा भएको अन्तरक्रियामा जोशीले पहिलो कृति प्रकाशित गरेपनि यस भित्र समेटिएको कथामा परिपक्कता पाइएको चर्चा भएको छ । अक्षर समुह चितवनको आयोजनामा भएको अन्तरक्रियामा समालोचक उदय अधिकारीले तथ्य, कथ्य र सन्देश समेटिएको निकथासंग्रहले साहित्य क्षेत्रमा नयाँ स्वाद दिएको बताउनुभयो । उहाले टिप्पणी गर्दै भन्नुभयो ‘कतै यात्रा, कतै नियात्रा र साना तिना विषयहरु समेटिएका छन्, उल्लेख गर्ननपर्नेलाई पनि स्थान दिएको छ त्यो हटाए अझ सुन्दर हुने थियो ।’
कथामा सिद्धान्तको प्रयोग भएको छैन तर पनि एउटा पाठकलाई कथाले बाधेर राख्न सक्दछ । सवैकथाहरुले सन्देश दिन सफल भएको छ । यात्रामा भएका विषयवस्तु समेटिएकाले नयाँ र अनौठा विषयहरु यस कृतिमा पाइने गरेको छ । कथासंग्रहको भिडमा निकथासंग्रहले पाठकलाई मन अड्याउन सक्ने मैले पाएको छु समालोचक अधिकारीले भन्नुभयो ।
अर्का साहित्यकार हेमनाथ घिमिरेले कथासंग्रहमा समेटिएका केही कथाको अन्तिम प्याराग्राफ नराख्दापनि पूर्ण हुन्छ तर त्यो प्याराग्राफले नयाँ स्वाद दिएको छ । कृतिमा भएका सवै कथा अध्ययन गर्दा कथाकारको पहिलो कृति हो भन्न सकिदैन अनुभवी साहित्यकारले लेखेको अनुभूती हुन्छ । अक्षर समुह चितवनका अध्यक्ष रमेश प्रभातले जोशीको कृतिले नयाँ उचाइ पाउनेमा आफूलाई विश्वास लागेको बताउनुभयो ।
लेखक जोशीले आफूले जीवनमा यात्रामा भएका घटनालाई कथाका रुपमा समावेश गरेकाले यो तथ्य परक रहेको पुष्टी गर्नुभयो । चोभार ब्लुज नाम भएपनि यसमा सवै क्षेत्रका कथाहरु समेटिएका छन् उहाले भन्नुभयो ‘आफ्नो जन्म स्थान बाल्यकाल चोभार नजिक भएकाले स्थानले आकर्शित गरेकाले नाम राखेको हो ।’ २२७ पृष्ठ भएको कृतिमा १९ वटा कथा समेटिएका छन् । साहित्यपोष्ट समुह अनामनगरले कृति प्रकाशन गरेको छ ।

शेयर गरौ

ताजा अपडेट