काठमाडौं १३ माघ । गृहमन्त्री रवि लामिछानेले आफ्नो राजीनामा बुझाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर उनले राजीनामा बुझाएको सचिवालयले जनाएको छ । उनका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको छ ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको छ ।
‘
म कुनै देशको नागरिक रहिनँ, रास्वपाको अध्यक्ष पनि भइन्’
रवि लामिछानेले आफू अहिले अनागरिक बनेको बताएका छन् । गृह मन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने पनि बताएका छन् ।
‘सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहिनँ । अहिले मसँग कुनै जवाफ छैन’ उनले भने । अदालतको आदेशसँग आफू रास्वपाको अध्यक्ष पनि नभएको उनले बताए ।