काठमाडौं ६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई छिमेकी देशसँग कार्ड खेल्न नहुने बताएका छन् । एमाले परराष्ट्र मामिला विभागले आज आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले भारत र चीनसँग कार्ड खेल्न नहुने बताएका हुन् ।
ओलीले भने, ‘दुई छिमेकीसँग कार्ड खेल्ने होइन । सन्तुलित, विश्वसनीय, भरपर्दो, एउटाको हित अर्काको अहित गर्ने कार्य गर्नु हुँदैन । हामी असल छिमेकी हुन चाहन्छौं । कुभलो गर्दैनौं । उनीहरूका जायज चासो चिन्तालाई सम्बोधन गरेर अगाडि जान्छौं ।’ नेपालको भूमि कसैकाविरुद्ध प्रयोग हुन नदिने ओलीले बताए ।
ओलीले भने, ‘कुनै प्रकारका सैनिक गतिविधि हुन दिंदैनौ । कसैले राखे पनि हाम्रो सार्वभौम सत्ताको अतिक्रमण हुन्छ । हाम्रो सार्वभौमसत्ता, स्वाधिनतामा सम्झौता गर्दैनौं । पारस्परिक लाभका आधारमा सम्बन्ध कायम गर्छौ । हामी विश्व शान्तिको पक्षमा छौं । हामी मानवीय मूल्यको कुरालाई महत्व दिन्छौं । कुनै पनि हिसावले युद्धलाई महत्व दिंदैनौं ।’