१६ फागुन, काठमाडौं ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन सरकारले विशेष सावधानी अपनाउन ध्यान दिने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै मन्त्री पोखरेलले हिजो ताप्लेजुङमा भएको दुर्घटनाको कारण खोजिने र यसैका लागि सरकारले उच्चस्तरीय जाँचबुझ आयोज गठन गरेको बताए । ‘सबै हवाई दुर्घटना एकै प्रकृतिका कारणबाट हुँदैनन्, एक पटक दुर्घटना हुँदाको कारण अब दोहोरिन दिनुहुँदैन’, उनले भने । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव बिहीबार काठमाडौं ल्याइएको छ । शव ल्याउँदा त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री पोखरेलसहित गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, तीनवटै सुरक्षा निकायका प्रमुखलगायत पुगेका थिए ।रासस