पोखरा २ माघ । । यति एअरलाइन्सको आइतबार भएको विमान दुर्घटनामा परेकामध्ये ६८ जनाको शव फेला परेको छ । फेला परेका ६८ शवमध्ये २६ जनाको पहिचान खुलेको छ ।
६३ जनाको शव पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । दुर्घटनामा परेका ६ जना अझै फेला परेको छैनन् । आइतबार साँझसम्म खोजी गरे पनि उनीहरूको उद्धार कार्य सोमबार बिहानैबाट सुरु भइसकेको छ । प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीका अनुसार अब ६ जना फेला पर्न बाँकी छ । ‘हिजो ४ वटा बाँकी छ भनेर भन्यौं । दौडधुपका कारण मिसइन्फरमेसन गएछ,’ केसीले भने, ‘अब ६ जना भेट्न बाँकी छ । पछि हामीले त्यो बुझियो । प्लेन तीन टुक्रा भएको थियो । हामीले खोजी पनि ३ तिरबाटै गरेका थियौं । सोही कारण यस्तो भयो ।’
पोखराको सीताराम पुल नजिकै सेती खोँचमा दुर्घटना भएको विमानमा ७२ जना रहेका थिए । पहिचान खुलेकाहरुको शव आज आफन्तलाई जिम्मा लगाइने कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताए । पहिचान खुल्ल नसकेका शवलाई काठमाडौँ लगेर डीएनए परीक्षण गरिने उनले बताए ।
पहिचान भएकाहरुमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भइ अहिले बालाजु बस्ने संगीता शाही, पोखरा ४ का डा। सुशील श्रेष्ठ र उनकी श्रीमती डा। सोना दिवाकर, पर्वतको कुष्मा १ का १० वर्षका रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत कुष्मा ९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उनकी ११ वर्षकी छोरी प्रसिद्धि, पर्वत मोदी १ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा २२ का रक्की गुरुङ छन् ।
यस्तै, रुपन्देही शङ्करनगर ८ का डा। गणेश थापा, काठमाडौँकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनको पहिचान खुलेको छ ।