चितवन महोत्सवको गृहमन्त्री लामिछानेद्वारा अवलोकन

चितवन २८ पुस । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नारायणगढको नारायणी नदीकिनारमा सञ्चालित १४औँ संस्करणको चितवन महोत्सवको अवलोकन गरेका छन् । आज दिउँसो महोत्सवस्थल पुगेका लामिछानेले नेपाली युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको ‘मेड इन नेपाल’ एक्स्पोसँगै महोत्सवको कृषि प्रदर्शनी अवलोकन गरेका हुन् ।
गृहमन्त्री लामिछानेले महोत्सव अवलोकनपछि सम्बोधन गर्दै युवा उद्यमीहरुको साथमा सधैँ आफू रहेको बताएका छन् । उनले केही नयाँ गर्न खोज्ने युवाहरुलाई आफूले गर्ने कामको प्रपोजल बनाएर गृहमन्त्रालयमा सम्पर्क राख्न आग्रह समेत गरे । युवाहरु विदेश पठाएर नभइ स्वदेशमा नै स्वरोजगार बनाएर देशको विकास हुने भन्दै यो सरकार नवप्रवद्र्धनमा प्रतिबद्ध भएको लामिछानेको भनाइ छ ।
आफूले आफ्नो राजनीतिक जीवनभर नेपालमा नै उत्पादन भएका लुगा लगाउने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले नेपाली हुनुमा गौरव भएको बताए । नेपाली उद्यमीहरुलाई सबैले स्वागत र सम्मान गरेको अवस्थामा मात्रै देशमा आर्थिक क्रान्ति आउने लामिछानेको भनाइ छ । सो कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं १४औँ चितवन महोत्सवका मूल संयोजक चुननारायण श्रेष्ठले स्वेदशमा नै लगानी गर्ने वातावरण तयार गर्न र लगानी सुरक्षित हुने अवस्थाको सिर्जना गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए ।
सेपाकताक्रोको दुवै खेलमा नवलपुर विजयी
नारायणगढको नारायणी नदी किनारमा सञ्चालित खुल्ला सेपाकताक्रो प्रतियोगिताको महिला तथा पुरुष दुवै प्रतिस्पर्धामा नवलपुर विजेता बनेको छ । आज भएको फाइनल खेलमा महिलातर्फ चितवनको रामनगर माविलाई हराउँदै नवलपुर ‘ए’ विजयी भएको हो । त्यस्तै पुरुषतर्फ नवलपुर ‘बी’लाई फाइनलमा हराउँदै नवलपुर ‘ए’ विजेता बनेको हो ।
सेपकताक्रो प्रतियोगितामा विजयी खेलाडीहरुलाई आजै पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको महोत्सवको खेलकुद संयोजक रुद्र सुवेदीले जानकारी दिए । त्यसैगरी प्रतियोगितामा महिलातर्फ नवलपुर ‘बी’ तथा पुरुषतर्फ रामनगर मावि तेस्रो भएका सुवेदीले जानकारी दिए । खेल पर्यटनलाई टेवा पु¥याउने उद्देश्य सहित १४औँ संस्करणको चितवन महोत्सवमा बुधबारदेखि सेपाकताक्रो प्रतियोगिता सुरु भएको थियो । त्यसैगरी सोही स्थानमा भोलि शुक्रबार स्लो साइकल रेस प्रतियोगिता आयोजना गरिने सुवेदीले बताए ।
चितवनका अध्यक्ष हरिश्चन्द्र थापाले प्रतियोगितामा चितवन र नवलपुरका १० वटा टिमले सहभागिता जनाएका जानकारी दिए । प्रतियोगितामा नवलपुरबाट महिलाको दुई तथा पुरुषको तीन र चितवनबाट पनि महिला दुई र पुरुष तीन गरी १० टिमको सहभागिता रहेको थापाको भनाइ छ ।
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
१४औँ संस्करणको चितवन महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा विभिन्न जिल्लाका लोक तथा दोहोरी कलाकारहरुले भाग लिएका सांस्कृतिक कार्यक्रम संयोजक नारायण प्रधानले जानकारी दिए । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा माघ १ गते हुने प्रधानको भनाइ छ ।
आजको सांस्कृतिक कार्यक्रम तथा दोहोरी प्रतियोगितामा अतिथि कलाकारको रुपमा लोक तथा दोहोरी गायक अमर बिरही गुरुङ र गायिका राधिका हमाल सहभागी भएका प्रधानले बताए । त्यसैगरी, सांस्कृतिक कार्यक्रम अन्तर्गत नै नारायणी कला मन्दिर, आस्था कला केन्द्र, नेपाल तामाङ घुदुङ, थारु कल्याणकारिणी सभा, तमु विद्यार्थी छोँज धीं, नेपाल पुन समाजलगायतको प्रस्तुती रहेको थियो । बिहीबार नै कलाकारहरु सुरेन्द्र केसी (मुलाको साग), शिवशंकर रिजाल (जोगेन्दर पान वाला) ले हाँस्य प्रहसनका गरेका प्रधानले बताए ।
महोत्सवमा भीड बढ्दै
आज बिहीबार २५ हजार भन्दा बढीले चितवन महोत्सव अवलोकन गरेका छन् । चितवन महोत्सवको टिकट व्यवस्थापन समितिका संयोजक राजन पियाले आज बेलुकीसम्म नै महोत्सवमा अवलोकनकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको भन्दै २५ हजार भन्दा बढी टिकट बिक्री भएको जानकारी दिए । महोत्सवमा बिहानभन्दा पनि दिउँसो र साँझपख दर्शकहरुको उपस्थिति बढी देखिएको पियाको भनाइ छ ।
महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीले पुस ३० गते खेल पर्यटन सम्बन्धी गोष्ठी र सोही दिन बिहान साइकल ¥याली हुने जानकारी दिए । त्यस्तै, माघ २ गते साहित्यिक गोष्ठी तथा माघ ३ गते कृषि सम्बन्धि गोष्ठी हुने ओलीको भनाइ छ । विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सवमा यसपटक मौरी र तोरी खेतीको प्रवद्र्धन गर्नेगरी तोरीबारीमा मौरीको मस्कट राखिएको छ ।
महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीसहित विभिन्न सात वटा छुट्टाछुट्टै डोम राखिएको ओलीले बताए । महोत्सवमा औद्योगिक उत्पादनसँगै बाल उद्यान र रमणीय पार्कमा विभिन्न जंगली जनावरहरुसमेत राखिएको उनले बताए । माघ ४ गतेसम्म सञ्चालन हुने चितवन महोत्सवमा ४५० वटा स्टल रहेकामा सबै स्टलको बीमा गरिएको ओलीको भनाइ छ ।
महोत्सवको आन्तरिक सुरक्षा व्यवस्था निजी क्षेत्रलाई जिम्मा दिइएको छ भने बाह्य सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरिएको छ । महोत्सव स्थलको चौबीसै घण्टा सिसिटिभी क्यामेराबाट निगरानी भइरहेको ओलीको भनाइ छ । महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० तथा विद्यार्थीलाई ३० रुपैयाँको टिकट व्यवस्था गरिएको ओलीले बताए ।
दश दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।

 

शेयर गरौ

ताजा अपडेट