काठमाडौँ २७ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् ।
आज पृथ्वी जयन्तीको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । वरिष्ठ नेता पौडेलले पाँच वर्षभित्र देशमा धेरै ठूलो विकासमा फड्को मार्ने गरी काम गर्न प्रतिपक्षमै बसेर सरकारलाई सहयोग गर्न आफ्नो पार्टीले विश्वासको मत दिएको बताएका छन् ।
उनले भने, ‘अब राष्ट्र बनाउन, राष्ट्र बचाउन राष्ट्रिय एकताको आवश्यकता छ भनेर मैले भन्दै पनि आएको थिएँ । आज राष्ट्रिय एकता दिवस पनि पर्यो । एकता दिवसमा केवल फर्मालिटी पूरा गर्नका लागि मात्रै मनाउने होइन, हामीले साँच्ची नै एकताबद्ध गरेर राष्ट्रको निर्माण गर्नुछ । राष्ट्रिय एकताको खाँचो छ । त्यसो भएको हुनाले हिजो हामीले सबैले एकै ठाउँ भोट हाल्यौँ । हामी सत्तामा नगइ तलबाटै सहयोग गर्ने । अहिले सरकारमा जाने कुरा नै छैन । हामी सरकारमा जाँदैनौँ ।’
नेता पौडेलले राष्ट्रलाई एकीकरण गरेका पृथ्वीनारायण शाहको स्मृतिमा राष्ट्रिय एकता दिवस मनाउनु नेपालका लागि अन्यन्तै खुशी र गौरवको विषय भएको बताएका छन् । उनले पृथ्वीनारायण शाहको दिव्योपदेशको स्मरण गर्दै घुस लिने र दिने अपराध कर्मको अन्त्य गरी भ्रष्टाचारमुक्त देश बनाउन दलहरूले मिलेर काम गर्नुपर्ने बताए ।