शालिग्राम नेपाल
चितवन, २५ पुस । हिजो आक्ष्तबारबाट चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रको आसपासमा सुरु भएको चरागणना आज सकिदैछ ।
हरेक वर्ष एक हप्ता लगाएर हुने चरागणनामा यस वर्ष भने दुइ दिनमा सम्पन्न गर्ने गरी सुरु हिजो भएको हो । धेरै जनशक्ति परिचलान गरेर दुइ दिनभित्र गणना कार्य सम्पन्न गर्ने योजना अनुरुप काम भएको वर्ड एजुकेशन सोसाइटी सौराहाका पूर्वअध्यक्ष वासु बिडारीले जानकारी दिनुभयो ।
पूर्वी चितवन, पश्चिम चितवन, निकुञ्ज क्षेत्र, नारायणी नदी लगायतका स्थानमा गणना एकै साथ गरिएको छ । गणनामा ६५ जना सहभागी भएको चरा विज्ञ विराडीले जानकारी दिनुभयो । नेपालमा चरा पाइने स्थान मध्य चितवन प्रमुख क्षेत्र हो । यहाँको नारायणी नदी, राप्ती नदी, निकुञ्ज भित्रको ताल, भण्डाराको माछापोखरी लगायतको स्थानमा चराहरु उच्च पाइने चितवन राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख राजु घिमिरेले जानकारी दिनुभयो ।
चितवनको लोथरदेखि जिन्दगानी घाट, त्यहाँबाट सौराहा हुदै कसरा, कसराबाट गोलाघाटसम्मको स्थानमा चरा विज्ञसहितको टोली गणना कार्यमा खटिएको निकुञ्ज कार्यालले जनाएको छ । अहिले विदेशबाट नेपालमा चरा आउने मौसम भएकाले यही समयमा गणना गरिदै आएको छ । माघा खान आउने, चल्ला कोरल्ने र जाने गर्ने वाहिरका चराको वानी भएकाले यो मौसममा कती चरा आए भन्नलाई पनि गणना कार्य जरुरी रहेको निकुञ्ज निमित्त प्रमुख घिमिरेले बताउनुभयो ।
चितवनमा पाइने रैथाने खर मजुर जातको चरा लोपउन्मुख भएकाले यसको अवस्थाको बारेमा गणनापछि थाहा लाग्ने जानकारी दिनु भयो । यो प्रजातिको चराको विषयमा निकुञ्जले आफ्नै प्रयासमा अनुसान्धानको तयारी गरिराखेको उहाले जानकारी दिनुभयो ।
राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको छ । नेपालमा शनिबारबाट गणना सुरु भएपनि चितवनमा भने आइतबारबाट मात्र गणना सुरु भएको हो ।
गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिनुभयो । उहाँका अनुसार तीन हप्ता चरा गणनाको काम हुनेछ । गणनाको क्षेत्र विस्तार हुँदै जाँदा पनि चराको सख्या बर्सेनी घट्दै जानु चिन्ताको विषय भएको उहाँले बताउनुभयो ।
चराको गुणस्तर बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेती बालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले चराको सङ्ख्या बर्सेनि घट्दै गएको उहाँको भनाइ छ । हरेक क्षेत्रमा जस्तै जलवायु परिवर्तको प्रभाव पनि चराको बासस्थानमा परेको डा बरालले बताउनुभयो । नेपालमा पछिल्लो तथ्याङ्क अनुसार आठ सय ९२ प्रजातिका चरा छन् । जसमा दुई सय चरा पानीमा आश्रित छन् । चितवनमा मात्रै छ सय ५२ प्रजातिका चरा छन् । चरा हेर्नकै लागि र अध्ययन अनुसन्धानको लागि चितवनमा विदेशी तथा स्वदेशी आउने गरेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
फोटो कोलमचन्द्र भगत