काठमाडौँ, २५ पुस । सत्ता साझेदार दलहरूबीच प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश सभामुख र उपसभामुख चयनको विषयमा सहमति जुटेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सत्तारूढ छ दलका शीर्ष नेताहरूको बैठकमा सातै प्रदेशको सरकार गठनका विषयमा सहमति भएको हो।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको बैठकले प्रदेश १ बाहेक छ प्रदेशका सरकार गठनको खाकामा सहमति गरेको एमाले नेता देवेन्द्र दाहालले जानकारी दिनुभयो।
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा ९एमाले०का हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ। नेता दाहालका अनुसार प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने सहमति भएको छ। उहाँले कर्णालीमा माओवादी केन्द्रले पाँचै वर्ष सरकार चलाउने सहमति भएको बताउनुभयो। बागमती र सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको दाहालले जानकारी दिनुभयो।
नेता दाहालका अनुसार मधेश प्रदेशमा पहिलो कार्यकालमा जनता समाजवादी पार्टीले सरकारको नेतृत्व गर्नेछ। उहाँले भन्नुभयो, “बागमतीमा पहिलो कार्यकाल माओवादी केन्द्र र सुदूरपश्चिम प्रदेशमा पहिलो कार्यकाल एमालेले सरकारको नेतृत्व गर्नेछ। मधेश प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीले सरकारको नेतृत्व गर्नेछन्।”
सभामुख र उपसभामुख बाँडफाँट
नेता दाहालका अनुसार प्रदेश सभाको सभामुख र उपसभामुखको चयनबारे पनि सत्ता साझेदार दलबीच सहमति भएको छ। उहाँले भन्नुभयो, “एमालेको मुख्यमन्त्री भएको प्रदेशमा माओवादी केन्द्रको सभामुख र माओवादी केन्द्रको मुख्यमन्त्री भएको प्रदेशमा एमालेका तर्फबाट सभामुख हुनेछ। तर बागमती प्रदेशको सभामुख पद चाहिँ राप्रपालाई दिने निर्णय भएको छ।”
प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सभामुख माओवादी केन्द्रका तर्फबाट चयन हुने दाहालले बताउनुभयो। त्यसैगरी मधेश प्रदेश र कर्णाली प्रदेशको प्रदेश सभामा सभामुखमा एमालेका तर्फबाट नियुक्त हुने उहाँले भन्नुभयो। प्रदेश १ र गण्डकी प्रदेशको उपसभामुख एमाले, बागमती र कर्णाली प्रदेश उपसभामुख माओवादी केन्द्र, लुम्बिनी प्रदेशमा राप्रपा र मधेशमा जनमत पार्टीका तर्फबाट उपसभामुख चयन गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो।
विश्वासको मत दिन आग्रह
सत्ता साझेदार दलको बैठकले प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा गठित सरकारलाई विश्वासको मत दिन सबै दललाई आग्रह गरेको छ। नेता दाहालले भन्नुभयो, “संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई विश्वासको मत माग्ने निर्णय बैठकले गरेको छ।” राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने निर्णय पनि बैठकले गरेको छ। गोरखापत्र दैनिकबाट