चितवन, १६ पुस । दीर्घकालीन रूपमा नदी कटान नियन्त्रणका लागि चितवनको लोथरदेखि सौराहासम्म आरसीसी पर्खाल लगाउने योजनाको फाइल फिर्ता भएको छ ।
पूर्वी चितवनको लोथरदेखि सौराहासम्म राप्ती नदीको कटान र डुबानले मानवबस्ती जोखिममा रहने भएपछि स्थायी समाधानका लागि पक्की पर्खाल लगाउने गरी अगाडि वढेको वहुवर्षे योजनाको काम रोकिएको हो ।
आर्थिक वर्ष ०७७÷७८ को साउनबाट निर्माण कार्य सुरु भएको परियोजना सम्पन्न गर्नको लागि थप रकम माग सहितको विस्तृत योजना समेटिएको योजनाको फाइल मन्त्रालयबाट फिर्ता आएको हो । पूर्वी क्षेत्रको वृहत विकास तथा नदी कटानको रोक्नको लागि ल्याएको परियोजनाको फाइल उर्जा तथा जलस्रोत मन्त्रालयबाट फिर्ता आएको हो ।
नारायणी नदी व्यवस्थापन आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर शंकर वुढाथोकीले जानकारी दिनुभयो । १६ अर्वको लागतमा निर्माण हुने यो परियोजनाबाट पूर्वी चितवनको वासिन्दासंगै पर्यटकीय क्षेत्र सौराहाको सुरक्षासंग पनि जोडिएको थियो । नदी नियन्त्रणको लागि नेपालकै ठुलो परियोजनाको रुपमा रहेको यो कामको फाइल फिर्ता आएको हो ।
नेकपा एमालेका उपाध्यक्ष तथा निर्वाचन क्षेत्र नं. १ बाट विजयी भएको पूर्व सांसद सुरेन्द्र पाण्डेको पहलमा यो परियोजना परेको थियो । बहुवर्षे कार्यक्रमअन्तर्गत नदी नियन्त्रणका लागि केही काम भएपनि थप कामको लागि बजेट माग गर्ना मन्त्रालय लगेको फाइलमा कुनै कार्वाही नभएर फिर्ता आएको सूचना अधिकारी इन्जिनियर शंकर वुढाथोकीले जानकारी दिनुभयो ।
लोथरदेखि सौराहाको हात्ती प्रजनन केन्द्रसम्मको २६.८ किलोमिटर लम्बाइ भएको ड्यामको रुपमा रहेको थियो । ढुङ्गाको तारजाली भएका ड्याम धेरै स्थानमा रहेको थियो तर यो बन्न लागेको ड्याम आरसीसी पर्खाल लगाइन भएकाले दीर्घकालिन सुरक्षा दिने योजना रहेको उहाले बताउनुभयो ।
गत वर्षबाट मात्र निर्माण सुरु भएको डयामको काम अहिले रोकिएको छ । बजेट निकासा नहुने भएपछि करिब एकसय ५० मिटर निर्माण भएको डयामको कामर्य अहिले थप हुन सकेको छैन । पुरानो निर्माण भएको तारजालीको ड्यामको मर्मतको लागि सामान्य बजेट आएपनि ठुलो परियोजानको लागि बजेट नआउने गरी फाइल नै रोकिएको वुटाथोकीले जानकारी दिनुभयो । अव फाइल पुन पेस गर्नको लागि पहलकमदी आवश्यक रहने उहाले बताउनुभयो ।