काठमाडौं , फागुन ।
सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा बिहीबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा बिहीबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुकाइने जनाइएको छ । अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।
अकल्पनीय, अप्रत्यासीत र दुःखद घटनाले राष्ट्रलाई अपुरणीय क्षति भएको सरकारले बताएको छ । नेपाल सरकार यस दुःखद घडीमा अत्यन्त गहिरो दुःख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ’ निर्णयमा भनिएको छ ।
बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र अर्का एक जना सवार थिए ।