सामुदायिक बिधालयलाई थप गुणस्तरीय बनाउन आवश्यक : सांसद जाेशी

चितवन – चितवन क्षेत्र नम्वर २(२) का बागमती प्रदेश उत्तम जोशीले सामुदायिक र निजी विद्यालयको पाठ्यपुस्तकमा एकरुपता आवश्यक रहेको बताएका छन् ।

आज (शुक्रबार) भरतपुर ५ स्थित श्री कैलाशनगर माध्यमिक विद्यालयको ५५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा सम्बोधन गर्दै जोशीले सामुदायिक र निजी विद्यालयबीचको नीतिमा एकरुपता आवश्यक रहेको बताएका हुन् । ‘सामुदायिक र निजी विद्यालयको पाठ्यपुस्तकमा एक रुपता हुनपर्छ । यसो भयो भने मात्रै शिक्षामा बिभेदकारी नीति हुँदैन’, जोशीले भने ।

सामुदायिक विद्यालयमा सरकारले ठूलो लगानी गर्दा पनि शैक्षिक गुणस्तरले फड्को मार्न नसक्नु चिन्ताजनक भएको उनको भनाइ थियो । ‘सामुदायिक विद्यालय सरकारको ठूलो लगानी छ । दिवा खाजा, छात्रावृत्ति, शिक्षक तलबलगायतमा सरकारले सरकारले ठूलो लगानी गर्दै आएको छ । राज्यको ठूलो लगानी हुँदा पनि शैक्षिक गुणस्तरले फड्को मार्न सकेको छैन’, उनले भने ।

सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन जनप्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थी सबै जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । सामुदायिक विद्यालयबाट दक्ष जनशक्ति उत्पादनका लागि शिक्षकहरुले गुणस्तरीयतामा ध्यान दिनुपर्नेमा उनले जोड दिए । उनले सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुण्स्तर सुधारका लागि प्रदेश सरकारको तर्फबाट सहयोगको प्रतिवद्धता जनाए ।

सामुदायिक विद्यालयका विद्यार्थीहरुले भविष्यमा निजीको तुलनामा धेरै अवसर पाउने भएता पनि आकर्षण कम देखिनु चिन्ताको बिषय भएको उनको भनाइ थियो । सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउन शैक्षिक गुणस्तर सुधारको विकल्प नरहेको उनले बताए । यसका लागि अभिभावकहरुले सामुदायिक विद्यालयको अध्ययन अध्यापनको बिषयमा निरन्तर रुपमा चासो राख्नुपर्ने उनले जोड दिए ।

भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले सामुदायिक विद्यलायको शैक्षिक गुणस्तर सुधारकालाई महानगरले प्राथमिकतामा राखेको बताए । महानगर भित्रका सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक सहयोग गर्ने उनको प्रतिवद्धता थियो । कार्यक्रममा भरतपुर ५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठ, पूर्व वडाध्यक्ष पदमपाणी सुवेदीलगायतले पनि बोलेका थिए ।

शेयर गरौ

ताजा अपडेट