सुदेश खनाल
चितवन ८ पुस । सडकको क्षेत्रमा निर्माण गरिएको संरचना भत्काउन सूचना दिदा समेत अटेर गरेपछि नारायणगढको मुख्य बजारका घर भत्काउन सुरु भएको छ ।
नारायणगढ–गोन्द्राङ छ लेन सडक विस्तारका क्रममा सडक सीमाभित्र रहेका घरटहरा भत्काउन डिभिजन सडक कार्यालय भरतपुरले दुइपटक सम्म सुचना जारी गरेको थियो । तर सूचनालाई अटेर गरेपछि शुक्रबारबाट डोजर चलाएर भत्काउन थालिएको डिभिजन सडक कार्यालय प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पुल्चोकबाट भरतपुर बसपार्कसम्म ५८ घर सडक सीमाभित्र पर्दछन् । सडक सीमाभित्रका घरका टप तथा कौसी भत्काउनुपर्नेको सङख्या एक सयभन्दा माथि छ । ती घरहरुको टपबाहेक १० सेन्टिमिटरदेखि उक दशमलव पाँच मिटरसम्म भत्काउनुपर्ने देखिएको छ ।
हेबी इक्युप्मेन्ट डिभिजन कार्यालय हेटौँडाबाट एक्साभेटर ल्याएर भत्काउन थालिएको हो । सडक ५० मिटर फराकिलो हुने भएकाले त्यसभित्र परेका संरचना भत्काइने छ उहाले भन्नुभयो । यसअघि ३५ दिन र १५ दिनको समय दिएर सूचना जारी गर्दा घरधनीहरुले अटेर गरेको उहाले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले डिभिजन सडक कार्यालयको काममा सहयोग गरिने बताउनेभयो । ‘उहाँहरुले थाल्नु भएको कामलाई आवश्यक सुरक्षा हामी दिन्छौँ ।’ भत्कने धेरै घर नारायणगढ बजार क्षेत्रका छन् । केही घरहरु भरतपुरको हाकिमचोक लगायतका क्षेत्रका छन् ।
घरधनीहरुले तत्कालीन भरतपुर नगरपालिकामा नक्सा पास गरेकाले जबर्जस्ती भत्काउन नहुने भन्दै वैकल्पिक उपायको खोजी गर्नुपर्ने बताएका छन् । छ लेन सडकको निर्माण २ वर्ष अघि सुरु भएको हो । विस्तारपछि नयाँ कालोपत्रे गर्ने कार्य गोन्द्राङदेखि चौविसकोठी सम्म भइराखेको छ । चौविसकोठीदेखि पुलचोकसम्म भने घर टहराहरु नभत्काएका कारण निर्माण कार्य रोकिएको थियो । अव घर भत्काएपछि निर्माणको कार्यले गति लिने डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।
भत्काउन सुरु गरेको स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीयको विरोध आउने भएकाले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो । दुइवर्षमा सम्पन्न हुनु पर्ने सडक विस्तारको कार्य घरटहरा भत्काउने, र मुआव्जा विवादका कारण ढिला भएको थियो ।