चितवन, ५ पुस । पुल निर्माणको लागि पहाड काट्न चितवनको मुग्लिन नारायणगढ सडकखण्ड मंगलबारदेखि दैनिक चार घण्टा बन्द गरिने भएको छ ।
मुग्लिन सडकखण्डमा निर्माणाधिन पुलको लागि पहाड काट्नु पर्ने भएकाले अन्य बैकल्पिक मार्ग नभएपछि सडक बन्द गरेर काम गर्नु परेको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक लगायत सवै पक्षसंग समन्वय गरेर विहान ११ बजेदेखि दिउसो ३ बजेसम्म सडक बन्द गरेर पहाड काट्ने गर्न लागेको हो ।
अहिलेपनि पहाड काट्ने काम भएको छ तर सुरक्षाको दृष्टिले र छिटो काम गर्नको लागि सडक बन्द गरेर काम गर्नु पर्ने देखिएको आयोजना प्रमुख कार्कीले भन्नुभयो । सडक प्रयोग गर्ने यात्रुहरुले बन्द गर्ने समयको विषयमा जानकारी लिएर मात्र यात्रा गर्न उहाले अनुरोध गर्नु भएको छ । पुस ५ गते मंगलबारदेखि कम्तीमा एक महिना बन्द गरेर हामीले काम गर्ने छौ कार्कीले भन्नुभयो कामको प्रगतीलाई हेरर एक महिनापछि समयको निर्धारण हुने छ ।
यस सडक खण्डमा १५ वटा पुल निर्माणको क्रममा रहेको छ । अहिले बन्द गर्नु पर्ने चार वटा पुल निर्माणको लागि हो । यी क्षेत्र अत्यन्तै कठिन स्थानमा निर्माण गर्नु परेकाले बाटो वन्द नै बिकल्प रहेको छ । सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जी खोलामा पुल निर्माणका लागि साधुरो स्थानमा पहाड काट्नु परेको आयोजनाले जनाएको छ ।
पुल निर्माणमा एक वर्ष लाग्ने
नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधिन १५ वटा पुलको निर्माण कार्य सम्पन्न हुनको लागि एक वर्ष लाग्ने भएको छ । निर्माणकै चरणमा रहेकाले काम सम्पन्न हुन अझै एक वर्ष लाग्ने आयोजना प्रमुख कार्कीले बताउनुभयो ।
अबको सात मिहनाभित्र १० वटा पुल र बाँकी समयमा अन्य निर्माण सकिने गरी काम अगाडि वढाएको आयोजना प्रमुख कार्कीले जानकारी दिनुभयो । विसं २०७६ चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । तर तोकिएको समयमा काम हुन सकेको छैन । तोकिएको म्याद यही पुस ९ गते सकिँदै छ । आयोजना प्रमुख कार्कीले भन्नुभयो ‘कोभिड–१९ का कारण समयमा काम सकिएन, अझै एक वर्ष लाग्ने देखिएको छ, मुआब्जा वितरण, पहाड काट्नु पर्ने, जोखिम स्थानमा काम गर्नु पर्ने लगायतको कारणले गर्दा समयमा काम गर्न सकिएन ।’ तोकिएको समयमा काम गर्न सकिएन त्यसैले समय थपका लागि विभागमा फाइल पठाएको उहाले जानकारी दिनुभयो । विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण कार्य भइरहेको छ ।
कार्कीका अनुसार पुल बनाएर सञ्चालन गर्ने क्रममा २६ घरटहरा भत्काउनुपर्ने छ । त्यसका लागि रु एक करोड बजेट माग गरिएकोमा त्यो बजेट आइनपुगेकाले घरटहरा भत्काउने काम ढिला भएको छ । सो सडक खण्डको १५ वटा पुल मध्य ५ वटा पुल तीन महिना भित्र सम्पन्न भएर सञ्चालनमा आउने गरी काम भएको कार्कीले बताउनुभयो । ती पुलहरुमा सेतीदोभान, डुम्रे, तोपे, लामो बालुवा र खहरे २ को पुल रहेको छ ।
हाल यो सडक नौदेखि ११ मिटर फराकिलो छ । ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी आठ पुल रहेका छन् ।
प्याकेज–१ को कूल ठेक्का रकम रु ६७ करोड ९९ लाख छ । पुल र नक्साङनका लागि मात्र रु ५८ करोड ४० लाख छ भने अन्य रकम पोल सार्ने, बाटो फराकिलो बनाउने, नदी नियन्त्रणलगायतमा खर्च हुने आयोजनाले जनाएको छ । दोस्रो प्याकेजको कूल ठेक्का रकम रु ५९ करोड पाँच लाखमध्ये नक्साङकन र पुलका लागि रु ४९ करोड ६० लाख हो भने बाँकी रकम अन्य काम गर्ने गरी ठेक्का लगाइएको हो । दुवै ठेक्काको काम अनक कन्स्ट्रक्सनले गरिरहेको छ ।


