चितवन ४ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले दिएको समयसीमा भित्रै देशले प्रधानमन्त्री पाउने बताएका छन्।
आज (सोमबार) भरतपुर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले भने,‘गठबन्धनबाटै प्रधानमन्त्रीको उम्मेदवार हुन्छन्, त्यो म पनि हुन सक्छु।’ राष्ट्रपति, प्रधानमन्त्री, सभामुखजस्ता महत्वपूर्ण पदहरुको टुंगो प्याकेजमा लगाउने गरी छलफल तिव्र पारिएको उनको भनाइ छ। राष्ट्रपतिले पुस ३ गते सात दिनको समय दिएकी थिइन्।
प्रधानमन्त्री बन्न कै लागि भनेर सबै चिज दाउमा नराख्ने समेत उनले बताए। प्रधानमन्त्रीको जिम्मेवारी दिए लिने तर आफ्नो दाबी भने नरहेको उनले बताए। आफूले अन्य व्यक्तिलाई प्रस्ताव गरेको उनले बताए।
सत्ता गठबन्धनका दलहरु र नयाँ पार्टीहरुसँग पनि छलफल भएको प्रचण्डको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतका दलका नेताहरुसँग निरन्तर संवाद भएको तर के कसरी जाने भनेर टुंगोमा पुगि नसकेको अध्यक्ष प्रचण्डको भनाइ छ।
एमालेसँग सत्ता साझेदारकी विषयमा औपचारिक छलफल नभएको उनको भनाइ छ। तर अनौपचारिक रुपमा अन्य दलहरुले समेत एमालेसँग छलफल गरिरहेको प्रचण्डले बताए। तर गठबन्धनका दलहरुबीच आलोपालोमा देशको नेतृत्व गर्ने सहमति निर्वाचन अघि भएको उनको दाबी छ। विभिन्न कार्यक्रममा सहभागि हुन आज (सोमबार) प्रचण्ड चितवन आएका हुन्।