संघीय सांसदले राज्यबाट के के सुविधा पाउछन् हेर्नुहोस

 

 

काठमाडौँ ४ पुस । प्रतिनिधिसभाका नवनिर्वाचित २ सय ७५ सांसदले शपथग्रहण गरेकै दिनदेखि राज्यबाट सुविधा पाउने भएका छन् । सत्तारूढ दलले शपथग्रहणपछि मात्रै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने भएकाले संसद् सचिवालयले शपथ गराउने तयारी गरिरहेको छ ।

बैठक ढिलो बसे पनि सांसदहरूले शपथग्रहण गरेदेखि नै सुविधा पाउने संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । संसद् बैठकसमेत पुसभित्रै बसिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । नयाँ सांसदलाई शपथको दिन कानुनको संग्रह, डायरी, झोला, कलम, शपथ राख्ने फाइल दिइनेछ । विगतमा दाताको सहयोगमा झोला दिने गरिएकामा यसपालि दाता गुहारिएको छैन । सांसदहरूलाई दिने डायरी छुट्टै छापिएको छ ।

सांसदहरूलाई मासिक अतिथि सत्कार भत्ता पनि दिइनेछ । सांसदले निजी सचिवालयका लागि कर्मचारी सुविधा पनि पाउनेछन् । सांसदको कोठा व्यवस्थापन गर्न सुरुमै फर्निचरको एकमुष्ट पैसा उपलब्ध गराउने कानुनी व्यवस्था छ । सांसदहरूले तलबबापत मासिक ६६ हजार ७० रुपैयाँ पाउनेछन् । काठमाडौं उपत्यकामा घर नभएका प्रत्येक सांसदले घरभाडाबापत मासिक १८ हजार रुपैयाँ पाउने छन् । घर हुने सांसदले भने घर मर्मतसम्भारबापत मासिक ८ हजार रुपैयाँ पाउँछन् । बिजुली, पानी, इन्टरनेट, टेलिफोन महसुल र पत्रपत्रिकाबापत मासिक ३ हजार रुपैयाँ दिइन्छ । इन्टरनेटसहित एउटा टेलिफोन लाइन जडान गर्न लाग्ने धरौटी तथा अन्य खर्च पनि सचिवालयले उपलब्ध गराउनेछ ।

सांसद बिरामी परे उपचारसमेत सरकारकै खर्चमा हुनेछ । अस्पताल भर्ना भएर गरिएको उपचार खर्च मात्र नभएर नियमित सेवन गर्ने औषधिसमेत सचिवालयले उपलब्ध गराउँछ । नियमित पारिश्रमिकबाहेक थप रकम चाहिए पेस्की लिने सुविधा हुनेछ । सांसदले आफूले पाउने तलबको बढीमा तीन महिनाको तलबबापतको पेस्की पाउने व्यवस्था छ । बैठक बस्दा दैनिक १ हजार यातायात खर्च र १ हजार बैठक भत्ता दिइन्छ । सत्तापक्षका नेता, विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतक र संसदीय समिति सभापतिले गाडी सुविधा पाउँछन् ।

सांसदलाई हुने सुविधा

मासिक तलब– ६६०७०

अधिकृतस्तरको १ स्वकीय सचिवको तलब

विशेष भत्ता– १०००

टेलिफोन, इन्टरनेट, पत्रपत्रिका– ३०००

घर नहुनेलाई आवास– १८०००

घर हुनेलाई मर्मत खर्च– ९०००

फर्निचर– १५००० एकमुष्ट

बिजुली, पानी– २०००

अतिथि सत्कार– १०००
कान्तिपुरबाट साभार

 

शेयर गरौ

ताजा अपडेट