भरतपुरको विद्युतीय चार्ज स्टेशन सवैको लागि सञ्चालनमा

 

चितवन ३ पुस । भरतपुर केन्द्रीय वसपार्कमा परीक्षणको लागि सञ्चालनमा ल्याएको विद्युतीय सवारी साधन चार्ज स्टेशन सवैको लागि खुला गरिएको छ ।
भरतपुरको केन्द्रीय वसपार्कमा दुइवटा चार्ज गर्ने स्टेशन १५ दिन अगाडिबाट सञ्चालनमा आएको छ भने जिल्लाकै मुग्लिनमा यसै हप्ताबाट सञ्चालन हुने नेपाल विद्युत प्राधिकरण चार्जिङ स्टेशन परियोजना इन्जिनियर सागर ज्ञवालीले जानकारी दिनुभयो ।
९० लाख रुपियाँको लागतमा निर्माण गरिएको यो स्टेशनमा परीक्षणका लागि खुल्ला गरिएको थियो । अहिले यो स्टेशनबाट पूर्ण रुपमा चार्ज गर्न सकिने ज्ञवालीले जानकारी दिनुभयो । दुइदुइवटा वुथ रहेको यो स्टशनमा एक पटकका छ वटा सवारी साधन चार्ज गर्न मिल्ने छ । ज्ञवालीका अनुसार यस स्टेशनमा साना–ठूला सबै सवारीसाधनको चार्ज गर्न मिल्ने व्यवस्था मिलाइएको छ । नेपालमा उपलब्ध रहेका सवारीसाधनको क्षमताअनुसार एकदेखि डेढ घण्टासम्ममा चार्ज गर्न सकिन्छ । चार्जको समय भने सावरी साधनमा प्रयोग भएका व्याट्रीको क्षमता र बाँकी भएको चर्चाको आधारमा हुने उहाले बताउनुभयो ।
चार्जिङ स्टेशनमा एक सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरू राखिएको छ । यसबाट ठूला बससहित तीनवटा सवारीसाधनले एकसाथ चार्ज गर्न सकिनेछ ।
आन्तरिकरूपमा खपत वृद्धि गर्न, पेट्रोलियम पदार्थको प्रयोग कम गराउन, विद्युतीय सवारीसाधनको प्रयोग वृद्ध गराइ वातावरणमैत्री यातायात प्रणालीको विकास गर्ने सरकारको उद्देश्य अनुसार स्टेशन निर्माण गरिएको इञ्जीनियर ज्ञवालीले बताउनुभयो ।
स्टेशनमा चार्ज गर्दा ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् । स्टेशनमा पेट्रोलपम्पमा जस्तो मान्छे बसेर सेवा दिइरहनु पर्दैन । स्टेशनमा पुगेर गाडी चार्ज गर्नुअघि सवारीधनीले कार्ड स्वाइप गरेर पैसा तिर्नुपर्छ । कति मिनेटसम्म वा कति रुपैयाँसम्मको चार्ज गर्ने हो त्यसैअनुसार पैसा काटिन्छ र गाडी चार्ज हुन्छ । समय वा पैसा बराबरको चार्जिङ पूरा भएपछि उक्त गाडी थप चार्ज हुँदैन ।
बसपार्कमा सञ्चालनमा आएका चार्जिङ स्टेशनमा दैनिक सातवटा सम्म साधनले चार्ज गरेको रेकर्डमा रहेको ज्ञवालीले बताउनुभयो । सरदर दैनिक चारदेखि पाँचवटा सवारीसाधनले चार्जिङ गर्ने गरेको छ । स्टेशन सञ्चालनमा आएको भन्ने सवैलाई जानकारी नभएको कारण साधनको सख्या वृद्धि नभएको उहाले बताउनुभयो।
प्राधिकरणले देशभर ३२ स्थानमा ५१ चार्जिङ स्टेशन निर्माणको तयारी गरेको छ । १२ वटा सञ्चालनमा आइसकेका छन् भने ३२ वटा जडान सम्पन्न भइसकेका छन् । बाँकी चार्जिङ स्टेशन निर्माणको अन्तिम चरणमा पुगेको प्रधिकरणले जानकारी दिएको छ । उपत्यका बारिहका चार्ज स्टेशनमा सवारी साधनको चाप कम रहेको छ । काठमाण्डौ उपत्यकामा भने चौविसैघण्टा चार्ज स्टेशन प्रयोग हुने गरेको इन्जिनियर ज्ञवालीले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट