काठमाडौं २८ मंसिर । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ सल्लाफेदमा मंगलबार बेलुकी बस दडुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा अन्य १३ जना घाइते भएका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार १५ जनाको घटनास्थलमै र अन्य दुई जनाको बनेपाको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किदै गरेको ‘रिजर्भ’ बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइतेहरूमध्ये आठ जनाको बनेपाको शिर मेमोरियल अस्पताल र अन्य पाँचको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार गरिरहेको छ । बसमा कति जना थिए भन्ने यकिन तथा मृतकको पहिचान हुन नसकको प्रहरीले जनाएको छ ।


