चितवन । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत एनसीइ नेपालको आयोजनामा एक दिने “निःशुल्क र गुणस्तरीय शिक्षामा लैङ्गिक हिंसाको प्रभाव“विषयक कार्यक्रम आयोजना गरेको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल एनसीइको आयेजनामा भएको कार्यक्रममा वहस कार्यक्रम गरेको हो ।
प्रमुख अतिथि भरतपुर महानगरपालिका महिला विकास अधिकृत सुशीला वाग्ले रहनु भएको थियो भने गैसस महासंघ नेपाल जिल्ला शाखा चितवनको अध्यक्ष पार्वती घिमिरे दवाडी बिशिष्ट अतिथि रहनु भएको थियो । अधिवक्ताद्वय कल्पना उप्रेती र सूर्य बहादुर बोहोराले लैङ्गिक हिंसा के हो ?विद्यालयमा हुन सक्ने लैङ्गिक हिंसाहरु, लैङ्गिक हिंसा रोक्न चाल्नु पर्ने कदम र लैङ्गिक हिंसा भएमा वा हुन लागेको शंका लागेमा के गर्ने भन्ने बारेमा प्रस्तुति गर्नु भएको थियो ।
रामपुर क्याम्पस प्रोफेसर कल्याणी मिश्र, नेप्स्कुन केन्द्रीय उपाध्यक्ष शान्ति अधिकारी, महिला आयोग पुर्व उपाध्यक्ष भगवती घिमिरे, नयाँकिरण माविका प्राचार्य रामेश्वर अधिकारी, जिल्ला प्रहरी कार्यालय बालबालिका महिला तथा जेष्ठ नागरिक शाखा प्रतिनिधि हसिना गिरी, दियालो परिवारका अध्यक्ष चितवन माविशिक्षक शारदा खनाल, प्रभात सहकारीका प्रमुख कार्यकारी अधिकृत हुमप्रसाद गैरे लगायतले शैक्षिक क्षेत्रमा हुन सक्ने लैङ्गिक हिंसा रोक्न विद्यालयमा कार्यक्रम गर्नु पर्ने, अशिक्षित अभिभावकहरुलाई लैङ्गिक हिंसा सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नु पर्ने, टोलटोलमा लैङ्गिक हिंसा बिरुद्धको अभियान सञ्चालन गर्न आवश्यक भएको बताउनु भयो ।
चितवन माविकी विद्यार्र्थी कौशिला पाठक, भरतपुर माविका सुजन परियारले बिहान स्कुल पढ्न गएका छोराछोरी साँझ सकुशल घर आइपुग्छन् किपुग्दैनन् भन्ने अवस्था भएकाले कतिपय अभिभावकले प्रार्थना गरेर बस्ने गरेको अनुभव सुनाए । भरतपुर माविकी रानीकुमारी गुप्ता, नयाँकिरण माविका प्रकृति पनेरु र अञ्जना घिमिरेले सामाजिक संजालको दूरुपयोग रोक्नु पर्ने कुरामा जोड दिए ।
कार्यक्रम शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला शाखा चितवनका संयोजक रामचन्द्र आचार्यको अध्यक्षतामा आयोजना गरिएको थियो । कार्यक्रमको व्यवस्थापन शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल कोषाध्यक्ष अनिता नेपालीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सचिव कमलराज खनालबाट भएको थियो । गैसस प्रतिनिधि, शिक्षक, विद्यार्थी, सहकारी अभियन्ता, महिला अधिकारकर्मी, बिभिन्न कार्यालयका प्रतिनिधि, पत्रकार गरी ४० जनाभन्दा बढीको सहभागिता भएको थियो ।


