प्रारम्भिक मत गणना : एमालेका पाँच शीर्ष नेता पछाडि

काठमाडौं ५ मंसिर । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना अनुसार एमालेका शीर्ष नेताहरू पछाडि परेका छन् । सोमबार अपराह्न ५० भन्दा बढी स्थानको मतगणना गर्दा एमालेका शीर्ष पाँच पदाधिकारी नेताहरू पछाडि परेका हुन् ।

प्रारम्भिक मतगणनामा महासचिव शंकर पोखरेलसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू बिष्णु पौडेल, सुवास नेम्वाङ र सुरेन्द्र पाण्डे पछि परेका हुन् । महासचिव पोखरेल दाङ, वरिष्ठ उपाध्यक्ष पोखरेल काठमाडौं, पौडेल रुपन्देही, नेम्वाङ इलाम र पाण्डे चितवनबाट उम्मेदवार बनेका छन् । आइतबार सम्पन्न निर्वाचनको सोमबार बिहानबाट मत गणना सुरु भएको हो ।

पछिल्लो परिणामअनुसार काठमाडौं–५ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नेपाली कांग्रेसका प्रदीप पौडेलले पछि पारेका छन् । हालसम्मको परिणाम अनुसार त्यहाँ १९०३ गन्दा ५१६ मतसहित पौडेल अगाडि छन्। त्यहाँ पोखरेलले ४३३ मतसहित पछ्याइरहेका छन् ।

त्यसैगरी एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि रूपन्देही क्षेत्र नम्बर २ मा पछि परेका छन् । उनलाई त्यहाँ कुल ३०० मत गन्दा त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पछि पारेका छन् । पौडेलले १२६ मतसहित पहिलो स्थानमा रहँदा एमालेका पौडेल ८६ मतसहित दोस्रो स्थानमा छन् ।

त्यस्तै यहाँ सत्ता गठबन्धनले सघाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशब बहादुर थापा ७८ मतसहित तेस्रो स्थानमा छन् । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि पछि परेका छन् । पूर्व सभामुख समेत रहेका उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले सुरुबाटै पछि पारेका हु्न् । ६६८ मत गणना हुँदा खड्काले ४३२ मत ल्याएका छन् भने नेम्वाङले २७६ मत पाएका छन् । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले चार मत र जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बूले तीन मत पाएका छन् ।

उता दाङ क्षेत्र नम्बर २ मा पनि एमाले महासचिव शंकर पोखरेल पछि परेका छन् । त्यहाँ उनी ६ सय ४ मतान्तरले पछाडि परेका छन् । दाङ २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले १ हजार ४ सय ५० मत पाएकी छन्। यता एमाले महासचिव पोखरेलले ८ सय ४६ मत प्राप्त भएको छ । उता चितवन क्षेत्र नम्बर १ मा अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे पछि परेका छन् ।

चितवनमा कांग्रेसका विश्व पौडेलले चितवन–१ मा अग्रता बनाएका छन् । ५०० मत गणना गर्दा पौडेलले २०१ मतसहित अग्रता लिएका हुन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पछ्याइरहेका छन् । ढकालले १३९ मत पाएका छन् । एमालेका सुरेन्द्र पाण्डेले १२९ मत पाएर तेस्रोमा छन् ।

शेयर गरौ

ताजा अपडेट