चितवन, ४ माघ ।
नेपालमा वार्षिक १० अर्ब रुपैयाँको बीउ आयात हुने गरेको पाइएको छ । नेपालको माग अनुसार यहाँ हाइब्रिड जातको बीउ उत्पादन हुन नसक्दा विदेशबाट अर्बौ रुपैयाँको बीउ आयात हुने गरेको यस क्षेत्रका बिज्ञहरुले जानकारी दिनु भएको छ ।
बीउ व्यवसायी मित्रराज दवाडीले भन्नु भयो ‘अन्न र तरकारी बालीमा विदेशबाट अर्बौ रुपैयाँको बीउ आयात हुने गरेको छ, यो तथ्याँङक हरेक वर्ष बृद्धि हुदैछ ।’
उहाका अनुसार आर्थिक वर्ष ०७३÷०७४ मा मात्रै एक अर्व ४१ करोड ७६ लाख मुल्यको बीउ आयात भएको छ । जसको ठुलो हिस्सा हाइब्रिड जातको बीउ रहेको छ । जसमा धान ६४ करोड, मकै ३९ करोडको बीउ आयात हुन्छ । यो तथ्याङक रेकर्ड गरिएको हो । रेकर्ड नगरी सिमावर्ती क्षेत्रबाट आउने सख्याको कुनै विबरण छैन । त्यसरी आउने बीउको मुल्य धेरै रहेको छ । नेपालको माग अनुसार यहाँ वार्षिक १० अबै रुपैयाँको बीउ आयात हुने गरेको बिज्ञहरुको भनाइ छ ।
खुला सिमाको कारण ठुलो परिमाणमा बीउ नेपाल आउने र करोडौ रुपैया विदेशीने गरेको विज्ञहरुले जानकारी दिनु भएको छ । हाइब्रिड जातका तरकारीको बीउ भने पूर्णतया आयातमा निर्भर रहेको व्यवसायी दवाडीले जानकारी दिनु भयो । अन्न भन्दा तरकारीको बीउ बिदेशीको भर पर्नु पर्दा करोडौ रुपैया विदेशीएको छ । आ.व. ०७३÷०७४ मा १०२ मेट्रिक्टन तरकारीको बीउ आयात गरिएको छ जसमा ३९ करोड बाहिरीएको उहाको भनाइ छ ।
तरकारी, अन्नको बीउ भारत, चीन, थाइल्याण्ड, जापान, कोरियालगायत युरोपियन मुलुकबाट आउने गरेको छ । जसमा भारतबाट मात्रै ८८ प्रतिशत आउने गरेको नेपाल बीउ व्यवसायी संघले जारी गरेको तथ्याँङमा उल्लेख छ । तरकारी जात अन्र्तगत सबै भन्दा धेरै काउली बन्दामा ८६ प्रतिशत बीउ आयात हुने गरेको छ । नेपालमा हाइब्रिड जातको बीउहरु उत्पादन नभएको होइन तर यहाँको उत्पादनले माग पूरा गर्न नसक्दा विदेशको मुख ताक्नु परेको कृषि विकास निर्देशनालय प्रदेश नं. ३ हेटौडाका बरिष्ठ कृषि प्रसार अधिकृत दिनेश आचार्य बताउनु हुन्छ । नेपालमा थोरै उत्पादन हुन्छ प्रचार पनि कम छ त्यसैले प्रयोगपनि थोरै हुने गरेको छ । नेपालमा उत्पादन भएको हाइब्रीड जातको बीउको प्रचारप्रसार हुन नसक्नु, किसानको हातसम्म सहज पहुच हुन नसक्नाले बिक्री नभएको व्यवसायीको भनाइ रहेको छ ।
बीउ बिजन अनुसन्धान केन्द्र काठमाण्डौका बरिष्ठ बीउ विकास अधिकृत रमेश हुमागाइले भन्नु भयो ‘आयातलाई घटाउनको लागि नेपालमा उत्पादित हाइब्रिड जातको बिउ किसानसम्म पु¥याउनु जरुरी छ, यसले गर्दा नेपाली जातको प्रयोग हुदै जाने छ ।’ नेपाली उत्पादनलाई प्रयोग गर्ने हो भने पनि थोरै मात्रामा आयात घटाउन सकिने थियो उहाले भन्नु भयो । उहाका अनुसार तराइका जिल्लामा सूचिकृत नभएका जातका धानको बीउको प्रयोग ५० प्रतिशत भएकाले त्यसलाई सूचिकृत गर्ने प्रकृया कार्यालयले अगाडि बढाउन थालिएको जानकारी दिनु भयो ।
तराइका झापादेखि कैलालीसम्म सोना मन्सुली, सावा मन्सुली लगायत चार जातका धानको बीउ नेपालमा सूचिकृत भएको छैन । यी जातका धान तराइको ५० प्रतिशत क्षेत्रमा लगाउने गरेको छ । यी सबै भारतबाट आएका हुन् । जुन वर्षौदेखि किसानले लगाउने गरेका छन् । नेपालमा उत्पादन भएका जातको नाम असजिलो, उस्तैउस्तै नाम भएको कारण पनि यहाँको किसानले प्रयोग नगरेको व्यवसायीहरुको भनाइ छ ।


