मङ्सिर चारपछि मल र बीउसहित हलो लिएर आउने छु : विक्रम पाण्डे

 

चितवन, २६ कात्तिक । चितवनको निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभा उम्मेदवार तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले मङ्सिर ४ पछि किसानको खेतमा मल र बीउसहित हलो बोकेर आउने बताउनु भएको छ ।
चुनावी घरदैलोका क्रममा भरतपुर–१४ राधापुरस्थित कालिका मन्दिरचोकमा भएको कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहनु भएका नेता पाण्डेले किसानले गर्न चाहेर पनि सरकारले नचाहिदिँदा सोचेजस्तो काम गर्न नसकेकोले हरेक किसानको प्रतिनिधित्व गर्ने गरी काम गर्न चितवन–३ बाट उम्मेदवार बनेको बताउनुभयो । सुन फलाउन सकिने चितवनमा सरकारको लाचारिपनका कारण अन्न पनि फलाउन नसकेको बताउनुभयो ।
नेपाललाई कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी विश्वकै नमुना देश बनाउन सकिने उहाको भनाइ छ । तर, देशलाई नमुना बनाउन एउटा निर्वाचन क्षेत्रको लागि एक जना सक्षम नागरिकको आवश्यक परेकोले चितवन–३ को जिम्मा लिन आफू आइपुगेको नेता पाण्डेको भनाइ छ । ‘विश्वामै नमुना देश बनाउन कम्मर कसेर लागेको छु,’ उहाले भन्नुभयो, ‘त्यसको लागि एउटा निर्वाचन क्षेत्रमा एक जनाले जिम्मा लिनुपर्छ । त्यसैले चितवन–३ को जिम्मा मैले लिएको छु ।’
देशमा वास्तविक किसानले सरकारी अनुदान पाउनबाट बञ्चित भइरहँदा कागजी किसान र नेताका किसानले अनुदान खाइरहेको समेत उहाले बताउनुभयो । नेताको खल्तीका किसानले सरकारी अनुदान खाइरहेको तीतो यथार्थ भोगिरहेको बताउँदै उहाले भन्नुभयो , ‘वास्तविक किसान त बैँकमा ऋण तिर्न नसकेर मर्नुन बाँच्नु हुनुपरेको छ ।’ यी सब समस्या समाधान गर्नको लागि आफूले नेतृत्व लिन चाहेको नेता पाण्डेले बताउनुभयो । ‘मेरो निर्वाचन चिन्ह हलो हो । त्यसैले कुनै पनि किसानका लागि जुनसुकै समयमा पनि काम लाग्न सक्छ,’ उनले भने, ‘अब विक्रम पाण्डेको हलो, हलोमात्रै आउँदैन । मल र बीउ सँगै लिएर आउँछ ।’
निर्वाचनमा विवेक पु¥याएर विकास गर्न सक्ने क्षमता भएको नेतालाई जिताएर पठाउन आग्रह गर्नुभयो । आगामी पाँच वर्ष पछुताउन नपर्ने गरी मतदान गरिदिन आग्रह गर्नुभयो । ‘म कुनै सांसद बन्न र मन्त्री बन्ने रहर बोकेर चुनावमा होमिएको होइन, चितवन–३ को तीव्र विकासको लागि आएको हुँ,’ उहाले भन्नुभयो ‘तपाइँहरूले मलाई जिताएर पठाउनुस्, गुनासो गर्ने बाटो राख्दिनँ ।’ सडकको विकासमा पिच भएको दुई महिनामा उप्किने खालको होइन, वर्षौँसम्म टिक्ने गुणस्तरीय कालोपत्रेको आवश्यक परेकोले गुणस्तरीय काम गर्नकै लागि राजनीतिमा आएको बताउनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट