लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरी एक ठाउँमा उभिनु परेको छ : देउवा

डडेल्धुरा, १८ कात्तिक  । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले अतिक्रमित नेपालको भूमि कूटनीतिक पहल र आपसी सम्बन्धका आधारमा फिर्ता ल्याउन पहल भइरहेको बताउनुभएको छ ।

गृहपालिका गन्यापधुरा–२ वडालमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले  आफू पनि सुदूरपश्चिमवासी भएकाले लिम्पियाधुरा, लिपुलेक, कालापानी र अन्य भूमिसम्बन्धी विवाद पनि कूटनीतिक पहलका आधारमा समाधान गर्ने स्पष्ट पार्नुभयो ।

लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरी एक ठाउँमा उभिनु परेको बताउँदै उहाँले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धन बहुमतका साथ विजयी हुने दाबी गर्नुभयो ।    

सभापति देउवाले सबै पक्ष, जातजाति र भूगोल तथा अन्यायमा परेका मानिसको पक्षमा रहेका गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो । राजनीतिमा स्थायी शत्रु र मित्र नहुने भएकाले राजनीति परिस्थितिअनुसार चल्ने उहाँको भनाइ छ ।

 प्रधानमन्त्री देउवाले न्यायपालिका स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै न्यायालिकामाथिको हस्तक्षेप र आरोप बन्द हुनुपर्ने बताउनुभयो ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा न्यायालय र संविधाननलाई कमजोर पार्ने चेष्टा गरेको आरोप लगाउँदै प्रधानमन्त्री देउवाले न्याय क्षेत्रलाई स्वतन्त्ररूपमा काम गर्ने वातावरण आफ्नो नेतृत्वको सरकारले कायम गरेको बताउनुभयो ।

कुनै पनि व्यक्ति वा प्रधानमन्त्रीले संसद भङ्ग गर्न नपाउन भन्ने अभिप्रायले लोकतन्त्रको मर्म र जनताको अभिमतका आधारमा तयार पारिएको नेपालको संविधान मास्ने र च्यात्ने खतरा बढेको तर ससंद र अदालत नै संविधानको रक्षा गर्ने निकाय भएको उहाँको भनाइ थियो ।

शेयर गरौ

ताजा अपडेट