काठमाडौं २ कात्तिक । सत्ता गठबन्धनमा आबद्ध दलहरूले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनमा अवद्ध दलहरूलाई मतदान गर्न संयुक्त अपील गरेको छ । गठबन्धनमा आवद्ध दलका नेताहरूको हस्ताक्षरसहित मंगलबार विज्ञप्तिमार्फत यस्तो अपील गरिएको हो ।
अपीलमा भनिएको छ, ‘आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हामी सहभागी हुँदैछौँ । नेपालको संविधान९०७२ ले परिकल्पना गरेअनुरुप राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न वर्तमान चुनावी गठबन्धन दलहरु प्रतिबद्ध रहेका छौँ । लोकतान्त्रिक गठबन्धनको यो नै साझा र प्रष्ट बैचारिक धरातल र सहकार्यको आधार हो ।’
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ४ मंसिरको चुनावपछि पनि गठबन्धन सरकार बनाउने साझा प्रतिवद्धता गरेका छन् । सत्ता गठबन्धनमा रहेका पाँच दलले देशभर सिट बाँडफाँट गरेर साझा उम्मेदवार खडा गरेका छन् ।
गठबन्धनको तर्फबाट मंगलबार सार्वजनिक साझा प्रतिवद्धतामा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मात्र हस्ताक्षर गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुले भने हस्ताक्षर गरेका छैनन् ।