भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकाले खोला नरहेको स्थानमा बनाइएको सार्वजनिक झोलुङ्गे पुल तर्नेसँग शुल्क असुल्दै आएको छ। नगरपालिकाको वडा नं। ९ र १० को सिमाना साँगामा बनाइएको झोलुङ्गे पुल तर्न २० रुपियाँ तिर्नुपर्ने हुन्छ। दुईवटा डाँडालाई जोड्न बनाइएको सो पुल तरेबापत शुल्क लाग्ने विषय अहिले विवादित भएको छ।
सूर्यविनायक नगरपालिकाले पर्यटकीय गतिविधि बढाउने उद्देश्यले सङ्घीय सरकारको सहयोगमा एक करोड छ लाख रुपियाँको लागतमा पुल निर्माण गरेको थियो। नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले पर्यटन क्षेत्रको विकासका लागि शुल्क लिने गरिएको तर्क गर्नुभयो।
सो क्षेत्रको अवलोकन गर्न सार्वजनिक बिदामा दैनिक हजारौँको सङ्ख्यामा पर्यटक यहाँ आउने गरेका छन्। उहाँले पर्यटकका लागि थप भौतिक पूर्वाधारको विकास गराउन न्यून शुल्क लिनु परेको बताउनुभयो। “केही समयमै भ्यु प्वाइन्ट, शौचालयलगायतका सुविधा बढाउँदै छौँ,” उहाँले थप्नुभयो, “नगर कार्यपालिकाको बैठकबाटै पुल तरेबापत शुल्क लिने निर्णयपछि बोलपत्र आह्वान गरेर वार्षिक ३६ लाख रुपियाँमा रविचन्द्र कन्स्ट्रक्सनलाई ठेक्का दिइएको छ।”
पुल निर्माण गरिएको वडा नं। ९ र १० का स्थानीयले पुल प्रयोग गरेबापत शुल्क तिर्नु नपर्ने र सूर्यविनायक नगरपालिकाका बासिन्दालाई ५० प्रतिशत छुट दिइएको छ। सार्वजनिक बिदामा अत्यधिक भीड हुने भएकाले सो भीड व्यवस्थापनका लागि रकम उठाइएको भनाइ नगरपालिकाको छ।
नगरपालिकाले शुल्क उठाउन गरेको निर्णयप्रति स्थानीय बासिन्दा र अवलोकनकर्ता सन्तुष्ट छैनन्। काभ्रेपलाञ्चोकबाट पुल तरी अग्लो महादेवको दर्शन गर्न आउनुभएका अरबिन्द गौतमले स्थानीय तहले रकम असुल्ने माध्यम बनाएको गुनासो गर्नुभयो। काठमाडौँबाट महादेव मन्दिरमा आउनुभएकी सीता पोखरेलले २० रुपियाँ तिर्नु ठूलो कुरा नभए पनि स्थानीय तहले राजस्व उठाउनकै लागि गलत काम गरेको बताउनुभयो।
पुल निर्माण भएपछि पर्यटक आवागमनमा निकै वृद्धि भएको स्थानीय व्यवसायी जय श्रेष्ठले बताउनुभयो। उहाँले शनिबार तथा सार्वजनिक बिदाको दिनमा पुलमा पाइलो टेक्नेसमेत ठाउँ नपाउने बताउँदै साँगामा महादेव मन्दिर र पुल निर्माण भएपछि पर्यटकीय क्षेत्रका रूपमा विकास भएको उल्लेख गर्नुभयो।
नगरपालिकाले ध्याम्पेडाँडा र नैचालडाँडा जोड्ने ५४७ मिटर लामो झोलुङ्गे पुल बनाउन सङ्घीय सरकारलाई अनुरोध गरेको छ। पछिल्लो समय ध्याम्पेडाँडा, नैचालडाँडा, साँगा पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेकाले सो क्षेत्रमा पर्यटकीय पूर्वाधार बढाउने प्रयास नगरपालिकाले गरिरहेको पालिकाका प्रवक्ता सापकोटाले जानकारी दिनुभयो। गोरखापत्र दैनिकबाट