गोरखा ३० असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो योजना अनुसार उम्मेदवारी दर्ता गर्न जाँदा बाजा नबजाएको भन्दै निर्वाचन आयोगमा स्पष्टीकरण पेस गरेका छन् । आइतबार उम्मेदवारी दर्ताको लागि गोरखा निर्वाचन क्षेत्र नं २ को कार्यलय जाँदा बाजाको प्रयोग भएको भन्दै निर्वाचन आयोगले दाहाललाई स्पष्टीकरण सोधेको थियो ।
शनिबार गठबन्धनमा रहेका दलहरू बीचको संयुक्त कार्यकर्ता प्रशीक्षण कार्यक्रममा दाहालले आफूले लिखित स्पष्टीकरण दिएर आएको जानकारी गराएका हुन् ।शुक्रबार गोरखा आएका दाहालले पालुङटार यारपोर्ट संचालनका लागि नागरिक उड्ययन प्राधिकरणसँग विमानस्थलको अवस्था बारे जानकारी लिएका थिए । ‘केही दिनअघि चितवनको मेघौलीमा विमानस्थलको शिलान्यास भएको थियो, पालुङटार विमानस्थलको अवस्था के छ, त्यसरी नै शिलान्यास गर्न सकिँदैन भनेर हाकीमहरूसँग कुरा राख्दा, भोलि आउँ भन्नुभयो, आजलाई । एक छिनपछि सोचें, आचारसंहिता लागेको छ, म उम्मेदवार छु, चुनावको बीचमा विमानस्थलको शिलान्यास गर्यो भने त।।।’ दाहालले थपे,‘अस्ति कसले बाजा बाजाएछ, मलाई थाहा पनि छैन, बाजा कहाँबाट आयो, कसले लिएर आयो, आयोगले स्पष्टीकरण सोध्यो, मैले लिखित स्पष्टीकरण दिएर आएँ, मेरो योजनामा होइन भनेर ।’ कान्तिपुर दैनिकबाट