डडेल्धुरा २४ असोज । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध उजुरी परेको छ ।
डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका देउवाको नागरिकता र मतदाता नामावलीमा फरक–फरक जन्म मिति रहेको भन्दै उजुरी परेको हो ।
नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको पाइएको छ । नागरिकता र मतदाता नामावलीमा फरक–फरक मिति रहेको भन्दै बीपी कांग्रेसका उम्मेदवार कर्ण मल्लले देउवाविरुद्ध उजुरी हालेका हुन् ।
डडेल्धुरा कांग्रेसका पूर्व सभापति समेत रहेका मल्ल अहिले बीपी कांग्रेसका वरिष्ठ उपसभापति रहेका छन् । डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाविरुद्ध उजुरी परेको पुष्टि गरेका छन् । उनले भने, ‘उम्मेदवारको नागरिकता र मतदाता नामावलीमा फरक–फरक मिति रहेको भन्दै उजुरी परेको छ । हामी कारबाही अगाडि बढाउछौं ।’
प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले नागरिकता र मतदाता नामावलीमा फरक–फरक मिति रहनु ठूलो समस्या नरहेको बताएका छन् । ‘मतदाता नामावलीमा रहेको त्रुटि सच्याउनका लागि समय दिइएको थियो’, उनले भने, ‘सो समयमा सम्बन्धित व्यक्तिले त्रुटि रहेको जानकारी नपाएकाले त्यस्तो समस्या आएको हुनसक्छ ।’