चितवन २४ असोज । चितवनको निर्वाचन क्षेत्र ३ मा पार्टीको निर्णय विरूद्ध केन्द्रीय सदस्य दिनेश कोइराला र स्थानीय चुनावमै बागी उठेका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ ।
विधि विधान र पद्धती विरुद्ध नेता चलेकाले स्वतन्त्र उमेदवार दिएको उहाँहरुले बताउनु भएको छ । पार्टी भित्र दर्जनौ पटक आवाज उठाउँदा पनि नेतृत्वले नसुनेपछि बाध्य भएर उम्मेदवारी दर्ता गरेको केन्द्रीय सदस्य दिनेश कोइरालाले बताउनुभयो ।
कहिले राप्रपालाई कहिले पुष्पकमल दाहाल र उहाँको छोरीलाई छाड्नु पर्ने । काँग्रेसको पकड भएको क्षेत्रमा माओवादीलाई दिदा पार्टी सकिने भयो भन्दै आवाज उठाउदा सुनवाइ भएन । यस पटक प्रचण्ड यहाँबाट लड्नु हुन्न भनेर मैले आवाज उठाए सुनिएन नेता कोइरालाले भन्नुभयो ‘यो ३ नं. क्षेत्र कांग्रेसलाई चाहिन्छ भनेर मैले पटकपटक कुरा उठाएँ । तर प्रचण्ड नउठ्दा पनि उहाँकै पार्टीलाई सहयोग गर्ने निर्णय गरियो ।’
पार्टी अव धनवाद र डनवादमा तर्फ गयो नीति र विधान अनुसार नचले सच्चा नेताहरुले गलत गर्ने नेतृत्वको विरुद्धमा आवाज उठाउनै पर्छ । ढिलो चाढो मात्र हो अब धेरैले गलत निर्णय गर्ने नेतृत्वको खुलेर विरोध गर्ने दिन आउछ । नेताहरुको यस्तै गलत कार्यले गर्दा जनतामा पार्टी प्रति वितृष्णा पैदा भएको कोइरालाले बताउनुभयो ।
उहाँसँगै जगन्नाथ पौडेलले प्रतिनिधि सभाको निर्वाचनमा क्षेत्र नं. ३ मा उम्मेदवारी दर्ता गराउनु भएको छ । यस अगाडि पनि उहाले पार्टीले गलत निर्णय गरेको भन्दै स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनु भएको थियो । त्यसमा उहाले १४, ७२८ मत ल्याउने भएको थियो । पार्टीको निर्णय विरुद्ध गतिविधि गरेको भन्दै उहाँ र उहाँका प्रस्तावक, समर्थकहरूलाई पार्टीले साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ । आफूले दिएको उमेदवारी कुनैपनि हालतमा फिर्ता नहुने पौडेलले बताउनु भएको छ ।
यस निर्वाचन क्षेत्र माओवादीको भागमा परेपछि डाक्टर भोजराज अधिकारीलाई उमेदवार बनाएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा गएपनि यस क्षेत्र माओवादीको कोटामा परेको भन्दै गठवन्धनबाट डाक्टर अधिकारी उमेदवार बन्नु भएको हो ।