चितवन २३ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ।
आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।
आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ। प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गर्नु भएको छ ।
उहाले मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान र विद्यमान कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयन गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्नुभयो ।
आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्नसमेत सम्बन्धित सबैमा उहाले आग्रह गर्नु भयो । प्रमुख आयुक्त थपलियाले विविध कारणवश केही दलले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम केही पर सारिदिन वा तीन दिनसम्म उक्त कार्यक्रम निरन्तर गर्न आग्रह गरेको भए पनि दलले प्रायःअन्तिम समयमा मात्रै उम्मेदवारी मनोनयनको निर्णय गर्ने प्रवृत्ति रहेको र विद्यमान कानुनी अवस्थाभित्र निर्वाचन कार्यक्रम हेरफेर गर्ने आधार नदेखिएकाले कार्यक्रम यथावत राखिएको स्पष्ट पार्नुभयो ।
चितवनको तीनवटै मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आज उमेदवारी दर्ता हुदैछ । कार्यालयले नदहरुलाई समय तोकेको छ । तोकेको समयमा दलहरु निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेदवारी दर्ता गर्ने तयारीमा रहेको छ ।


