चितवन, १८ असोज । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चितवन मेडिकल कलेजमा तोडफोड गरेका छन् ।
आक्रोशित आफन्तले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) कक्ष भित्र प्रवेश गरेर तोडफोड गरेको चितवन प्रहरीले जानकारी दिएको छ । तोडफोडबाट लाखौं रुपियाँको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडबाट मेडिकल आइसीयू कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको छ । आक्रोशित भिडले आइसीयू कक्षमा रहेका चिकित्सक र नर्सलाई समेत हातपात गरेको अस्पतालले जानकारी दिएको छ ।
भरतपुर–१३ का ३६ वर्षीय रमेश कुवँरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । उहालाई प्याङक्रियाटाइटिस र उच्च रक्तचापको समस्या भएर अस्पताल लगिएको थियो । अस्पतालले उपचार गर्न सेन्ट्रल भेन खोलेर औषधि दिएको बताएको छ । त्यसलाई आफन्तहरुले घाँटीको शल्यक्रिया भन्दै तोडफोडमा उत्रिएको बताईएको छ । तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।