चितवन, १८ असोज । चितवनको पाँच दलीय गठवन्धनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवनबाटै निर्वाचन लडेर अभिभाकत्व लिन अनुरोध गरेको छ ।
गठवन्धनको मंगलबार भरतपुरमा बसेको वैंठकले संयु्क्त रुपमा निर्णय सार्वजनिक गर्दै चितवन जिल्ला छाडेर अन्यत्र स्थानमा निर्वाचन लड्न जाने भन्ने हल्ला सुन्नमा आएकाले त्यसो नगर्न वैठकले अनुरोध गरेको छ । नेपाली काँग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको वैठकले निर्वाचन क्षेत्र परिवर्तन नगरी चितवनबाटै उठेर अभिभावकको नेतृत्व गर्न अपिल गरेको हो ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका, गठवन्धनको शीर्ष नेताले आफ्नो निर्वाचन क्षेत्र पविर्तन गर्नु सान्दर्भिक हुदैन त्यसैले पाँचदलीय गठवन्धनको वैठक वसेरै उहालाई यहीबाट संघीय संसदको निर्वाचनमा उठ्न अपिल गरेको नेपाली काँग्रेसका जिल्ला सभापति राजेश्वर खनालले बताउनुभयो ।
प्रचण्डलाई जिल्लामा निर्वाचन उठ्न असहज हुने भन्दै गोरखाको निर्वाचन क्षेत्र २ बाट उठ्ने चर्चा चलेको थियो । जिल्लामा उठ्ने वातावरण विग्रदै गएको भन्दै पाँचदल भित्र वहस चलेको थियो । मंगलबार भएको गठवन्धनको वैठकमा काँग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने लव्ली, राष्ट्रिय जनमोर्चाबाट नेता विष्णु पौडेल, जसपाबाट प्रेम भुजेल सहभागी हुनु भएको थियो ।