चाडपर्वदेखि निर्वाचनसम्म विशेष सुरक्षा व्यवस्था लागु

 

चितवन, १७ असोज । चितवन प्रहरीले चाडपर्वदेखि निर्वाचनसम्मलाई केन्द्रीत गरी विशेष सुरक्षा व्यवस्था लागु गरेको छ ।
दशै तिहार र निर्वाचनलाई ध्यान दिएर सुरक्षा योजना निर्माण गरी काम गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव एवं दसैँ, तिहार लक्षित गरी सुरक्षा योजना बनाइएको हो । अन्य समयमा पनि सुरक्षा कायममा कुनै कमी नभएको तर चाडपर्वमा मानिसको आवतजावत र भीडभाड बढी हुने भएकाले थप सुरक्षा सतर्कता बढाइएको छ ।
विगतका वर्षमा जस्तो यो वर्ष चाडपर्वको समयमा हुने अपराध नियन्त्रणले मात्रै पुग्दैन उहाले भन्नुभयो ‘निर्वाचनको समय नजिकिँदै गएकाले यो समयमा हुनसक्ने आपराधिक गतिविधिलाई समेत मध्यनजर गर्दै सुरक्षा योजना बनाइएको छ ।’
रात्रिकालीन सवारीमा आवश्यकता अनुसार सादा पोसाक र हतियारसहितका प्रहरी परिचालन गरिएको छ । सुनचाँदी पसल केन्द्रित गरेर सुुरक्षा प्रदान गरिएको छ । सादा पोसाकमा हुने प्रहरीले रेकी गर्ने र कुनै स्थानमा घटना भएमा तत्काल प्रहरी परिचालनका लागि क्युआरटी (क्विक रेस्पोन्स टिम) नै बनाएर काम गरिएको अधिकारीले बताउनुभयो ।
चोरी डकैत हुनसक्ने सम्भावित अवस्थालाई मध्यनजगर गरेर हरेक गाउँटोलमा स्थानीय प्रहरीको सहकार्यमा सचेतनाको कार्यक्रम लगिएको छ भने सुरक्षा व्यवस्थालाई मिलाइएको छ । चितवनका मुख्य बजार क्षेत्र र आपराधिक हिसाबले जोखिम क्षेत्रमा प्रहरीले गस्तीलाई प्राथमिकता दिएको छ । राजनीतिकर्मीले पनि चाडबाडको अवसर पारेर चुनावी गतिविधि बढाउने भएकाले यसपटक चुनावसम्मका लागि योजना बनाइएको अधिकारीको भनाइ छ । चाडपर्वसँगै निर्वाचन लक्षित गतिविधिमा हुने घटना नियन्त्रणका लागि जिल्लामा छ सय प्रहरी परिचालन गरिएको छ ।
चितवन प्रहरीले चाडबाडको समयमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीको समन्वयमा मुख्य र भित्री सडकमा आवश्यक मात्रामा सुरक्षा जनशक्ति खटाएको, मादक पदार्थ सेवन, अत्यधिक यात्रु सवारलगायत कारणले चाडबाडको समयमा बढी दुर्घटना हुने गरेको भन्दै विशेष ध्यान दिइएको छ ।
चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको प्रमुख अधिकारीले बताउनुभयो । उहाँका अनुसार केन्द्रीय बस टरमिनल, पुलचोक, पोखरा बसपार्क र मुग्लिनमा यात्रु सहायता कक्ष राखिएको छ ।

शेयर गरौ

ताजा अपडेट