खैरहनी नगरपालिकाले सुरु ग¥यो अतिक्रमण संरचना हटाउने काम

 

चितवन, १७ असोज । चितवनको खैरहनी नगरपालिकाले बजार व्यवस्थापन तथा अतिक्रमण हटाउने काम सुरू गरेको छ ।
सडक तथा सार्वजनिक क्षेत्रमा बनाएका घर टहरा तथा बजारको संरचना हटाउन सुरु गरेको हो । सार्वजनिक क्षेत्र मिचेर व्यवसाय सञ्चालन गर्दा बजार अव्यवस्थित तथा कुरुप बनेको थियो ।
बजार व्यवस्थापनका लागि खैरहनी नगरपालिकाले सूचना जारीसमेत गरिसकेको छ । सूचनालाई लिएर अटेर गर्नेहरुमाथि नगरपालिका कठोर बनेको हो । पसलको सटरभन्दा बाहिर राखेका व्यवसायजन्य वस्तु हटाउन नगरपालिकाले आग्रह गरेको छ भने पोलहरुमा रहेका प्रचार सामग्री जफत गरेको छ ।
खैरहनी नगरपालिकाले इलाका प्रहरी कार्यालय खैरहनीको सहयोगमा आफ्नाप्रहरी खटाएर व्यवस्थापनको काम सुरू गरेको हो । ‘सडक अतिक्रमण गरेर कसैले पनि व्यवसाय गर्न पाउँदैन्’, खैरहनी नगरप्रमुख शशी खनियाले भन्नुभयो ,‘सुन्दर र व्यवस्थित सहर निर्माणमा सबैको सहयोग चाहिन्छ ।’ बजार व्यवस्थापनका लागि नगरले सार्वजनिक सूचना जारी गरेकोमा त्यसको सबैले पालना गर्नुपर्ने प्रमुख खनियाँले बताउनुभयो ।
ठेला, घुम्तीजन्य व्यवसायले बजारको सौन्दर्यता हराउनुका साथै सडक पनि साँघुरो बन्ने गरेको छ । जसका कारण आवतजावतमा समेत समस्या पर्दै आएको छ । ठेला, रिक्साजन्य व्यवसाय बिस्तारै हट्ने क्रममा रहेको नगरप्रमुख खनियाँले जानकारी दिनुभयो । ‘हामी कसैको व्यवसाय खोस्न चाहँदैनौ’, नगरप्रमुख खनियाँले भन्नुभयो,‘सबैको व्यवस्थापन हुने गरी काम गर्नेछौँ, कसैलाई मार पर्ने छैन ।’ टेलिफोन र इन्टरनेट प्रदायक संस्थाको तारका कारण दुर्घटना हुने सम्भावना रहेपछि खैरहनी नगरपालिकाले त्यस्ता तार व्यवस्थापन तथा मर्मत गर्न निर्देशन दिइसकेको छ ।
खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतीले बजार व्यवस्थापनमा साथ र सहयोग गर्न आग्रह गर्नु भएको छ। । खैरहनी–८, नयाँ पर्सा र खैरहनी–६, पुरानो पर्सामा पहिलो चरणमा व्यवस्थापनको काम सुरू गरेको उपप्रमुख उप्रेतीले बताउनुभयो ।
‘बजार व्यवस्थित गर्ने सबैको दायित्व हो’, उपप्रमुख उप्रेतीले भन्नुभयो ‘सुरूमा आग्रह गर्छौं, अटेर गरे कानुनअनुसार अघि बढ्छौँ ।’ राजधानी काठमाण्डौंमा सार्वजनिक जग्गा हडपेर बस्ने, नक्सा पास भन्दा बाहेकका स्थानमा संरचना निर्माण गर्नेलाई हटाउन थालेपछि त्यसको प्रभाव जिल्लाका स्थानीय पालिकामा परेको छ । स्थानीयले यहाँपनि मिचेर बनाएका संरचना भत्काउन र हटाउन दवाव दिदै आएका थिए ।

शेयर गरौ

ताजा अपडेट