काठमाण्डौं ३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ मा चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको र यस कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास लिएको बताउनु भएको छ ।
संविधान दिवसको अवसरमा सोमबार बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा देशवासीलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न गर्ने कार्यमा सहयोग गर्न सबैसँग आग्रह पनि गर्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘निर्वाचनले मुलुकमा एकातिर लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रूपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्दछ भने अर्कातिर यसले हाम्रो संविधानलाई चलायमान बनाउन र यसको जीवन्तता अभिवृद्धि गर्न सहयोग पुग्दछ, अब हुने चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध छ यस कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास लिएको छु ।’’
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुनसहित विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको सो समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधान कानूनी राज्यको आत्मा हो भन्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘संविधान देशको मूल कानून हुनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्ने, नागरिकहरूलाई राज्यका तर्फबाट सबै किसिमका मौलिकहकहरू सुनिश्चित गर्ने, नागरिकको राष्ट्रप्रतिको कर्तव्यलाई निर्देशित गर्ने तथा देश र जनताको समुन्नतिको आकाङ्क्षालाई प्रतिबिम्बित गर्ने महत्त्वपूर्ण दस्ताबेज हो ।संविधानको भावना र मर्मलाई व्यवहारमा रूपान्तरित गर्न हामी सबै प्रतिबद्ध हुन आवश्यक छ ।’’
संविधानको कार्यान्वयनलाई गति दिन विभिन्न ऐन नियमहरू तर्जुमा भई कार्यान्वयनमा आएका छन्, मुलुकमा युगान्तकारी राजनीतिक परिवर्तन सम्पन्न भएसँगै अब यसलाई संस्थागत गर्दै अघि बढ्न जरुरी छ यसका लागि हाम्रो सोच, काम गराई, प्रवृत्ति र कार्यशैलीमा पनि आमूल परिवर्तन ल्याउन जरुरी छ, प्रधानमन्त्रीले भन्नुभयो ।
सबै किसिमका राजनीतिक स्वतन्त्रता र आर्थिक तथा सामाजिक अधिकार उपभोग गर्न सक्ने समतामूलक समाजको निर्माण गर्नु आज हाम्रो राष्ट्रिय दायित्व हो भन्दै प्रधानमन्त्रीले अबको हाम्रो गन्तव्य भनेको मुलुकको द्रुततर आर्थिक रूपान्तरण, सुशासनको सुदृढीकरण र जनताको जीवनस्तरमा सुधार भएको बताउनु भयो ।
सरकारले स्वास्थ्य पूर्वाधार सेवाहरूको विस्तार र सुदृढीकरण गरी महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको छ, हामी सबैको समन्वयात्मक प्रयासबाट कोभिड डेङ्गुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुनेछौँ भन्ने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गर्नुभयो ।
राष्ट्रिय एकता तथा संविधान दिवसका अवसरमा यो लक्ष्य पूरा गर्न कुनै पूर्वाग्रह र दुराग्रह नराखी देश र जनताको हितलाई सर्वोपरि ठान्दै विकास र समुन्नतिको महायज्ञमा जुट्न प्रधानमन्त्रीले सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, निजी क्षेत्र लगायत सबैमा आह्वान पनि गर्नुभयो । गोरखापत्रबाट