काठमाडौं २१ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठको दबाबमा शुक्रबार पक्राउ परेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार गुरुङलाई आवश्यक प्रक्रिया पूरा गरी रिहा गरिएको हो ।
सोमबार साँझ ५ बजेतिर प्रक्रिया पूरा गरेर साधारण तारेखमा छाडिएको उनको भनाई छ । भिएसएफका शुरक्षागार्ड गुरूङलाई हिरासतमुक्त गर्न गृहमन्त्रीले निर्देशन दिएका छन् । क्यानडाको भिसा प्रोसेसिङका लागि हिजो ठमेलस्थित छायाँसेन्टरमा पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बस्न भन्दा उल्टै उनीमाथि दुर्व्यवहारको आरोप लागेको थियो ।
सोमबार नै गुरुङलाई थुनामुक्त गर्न सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो । गुरुङकी श्रीमती लक्ष्मी गुरुङका तर्फबाट सोमबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता भएको हो । रिटको सुनुवाइ मंगलबारका लागि तोकिएको छ ।
शुक्रबार भिसा प्रक्रियाका लागि बायोमेट्रिक दिन ठमेलस्थित छाया सेन्टर पुगेका मन्त्री श्रेष्ठ लाइन मिचेर अघि बढ्न खोजेपछि गरुड सेक्युरिटीजबाट भिसा सेन्टरमा खटिएका सुरक्षा इन्चार्ज गुरुङले मन्त्रीलाई रोकेका थिए । त्यस क्रममा मन्त्री श्रेष्ठ र गुरुङबीच भनाभन पनि भएको थियो ।
उनीमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढाएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पनि दिएको थियो। आइतबार प्रहरीले गुरुङलाई मुलुकी अपराध संहिता २०७४ को दफा ११८ अन्तर्गत अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिनको म्याद दिइसकेको थियो ।
गुरूङले काम गर्ने गरूड सेक्युरिटिजले भने उनले कुनै गल्ती नगरेको दाबी गर्दै घटनाको सिसिटिभी फुटेज देखाउन माग गरेको छ।