काठमाडौं , १२ भदौ । आगामी प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा गठवन्धन बनाएर जाने तय गरेको सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज आइतबार बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
यसअघि गत शुक्रबार बसेको कार्यदलको बैठकमा प्रतिनिधि सभासँगै प्रदेशसभातर्फ पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषयमा छलफल भएको थियो । सो बैठकमा दलहरुले आ–आफ्नो दाबी प्रस्तुत गरेका थिए ।
नेपाली कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कम्तिमा सय सिट आफुले पाउनुपर्ने दाबी प्रस्तुत गरेको छ । यसैगरी, नेकपा माओवादीले पनि ५५ देखि ६० सिटमा दाबी गरेको छ ।