काठमाडौं ६ भदौ । गृहमन्त्री बालकृष्ण खाँणका पीएसओ (व्यक्तिगत सुरक्षा अधिकारी) प्रहरी प्रधान कार्यालय तानिएका छन्।
सुन तस्करीको आरोपमा गृहमन्त्री खाँणको सुरक्षामा खटिएका प्रहरी वरिष्ठ नायव निरीक्षक (सिनियर सई) टंक कार्की अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय तानिएका हो ।
सुन तस्करी प्रकरणमा मुछिएपछि कार्कीलाई हेडक्वार्टर तानेर छानबिन थालिएको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए। उनी विरुद्ध प्रहरी महानिरीक्षकको सचिवालयमा उजुरी परेपछि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले डीएसपीको कमाण्डमा समिति बनाएको छ।
सई कार्कीले दुबईबाट आएको तस्करीको सुन गन्तव्यसम्म पुर्याउने सेटिङमा काम गरेको आरोप लागेको छ । असार १६ मा चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर–४ घर भएका एकजना युवकलाई काठमाडौंको गैरीधारामा बोलाएर कार्कीले प्रहरी वृत गौशालामा लगेर थुनाएका थिए । उनलाई अभद्र व्यवहारको आरोपमा थुनेर पीडितको गाडीमा रहेको ४ लाख नगद सई कार्की र आकाश ठकुरीले ‘गायब’ बनाएको आरोप छ ।
थुनामा राख्नुअघि पीडित चढेको प्रदेश–३–०१–२३ च ६५४७ सुजुकी बलेनो गाडीको सेफमा रहेको ४ लाख नगद सई कार्की र आकाश ठकुरीले लिएर गएको पीडितको आरोप छ । गौशाला प्रहरी वृत्तको हिरासतबाट उनी असार २७ मा थुना मुक्त भए ।
हिरासतमा बस्दा वरिष्ठ सई कार्की र आकाश ठकुरीले धाक धम्की दिएर ५ जनाको नाममा ५ थान चेक काट्न लगाएको पीडितको आरोप छ । त्यसबारे उनले प्रहरी महानिरीक्षकको सचिवालयमा उजुरी गरे पछि उनी तानिएका हुन् ।
‘हिरासतमा थुनेको ४–५ दिनपछि टंक कार्की आएर मलाई धम्की दिए’ पीडितले प्रहरी प्रधान कार्यालयमा दिउको उजुरीमा भनिएको छ– ‘मेरी आमालाई चेक लिएर आउनु र छोरा लिएर जानु भनेर फोन गरेर उनीहरुले ५ जनाको नाममा चेक काटेर मलाई हिरासत बाहिर निकालेर हस्ताक्षर गराए ।’